सिँचाइ पोखरी निर्माणपछि २१ घरधुरीलाई सहजता

सिँचाइ पोखरी निर्माणपछि २१ घरधुरीलाई सहजता

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीय किसानलाई खेतीमा ठूलो सहजता भएको छ ।

उर्वर भूमि हुँदा पनि सिँचाइ अभावका कारण बाँझो बन्दै गएको जमिन अब एकसाथ २१ घरपरिवारले सिंचाइ गर्न सक्ने भएपछि कृषिकर्ममा पुनः उत्साह देखिएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईका अनुसार पोखरी निर्माणपछि चाँपे टोलका किसान एकसाथ खेती गर्नसक्ने अवस्था बनेको छ । “हाम्रो टोलमा तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरेका छौँ,” उनले भने, “पहिले सिँचाइ अभावले धेरै समस्या भोग्नुपर्थ्यो, अहिले त्यो समस्या अन्त्य भएको छ ।”

तीन पोखरी निर्माण प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त ३० लाख रुपैयाँ बजेटबाट गरिएको वडा अध्यक्ष राजेन्द्र राईले बताए । वडाको पहलमा प्रदेश सरकारसँग बजेट माग गरी पोखरी निर्माण गर्न सफल भएको उनले उल्लेख गरे । “यो चाँपे क्षेत्र तरकारी र नगदेबालीका लागि उपयुक्त मानिन्छ, सिँचाइ अभावले समस्या थियो, अब त्यो समाधान भएको छ,” उनले भने ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार सडकको राम्रो पहुँच र सिँचाइ सुविधाले स्थानीय किसानलाई नगदेबाली खेतीतर्फ आकर्षित गरेको छ। “सिँचाइ विस्तार भएपछि कृषिकर्मबाट आयआर्जन गर्ने वातावरण बनेको छ,” उनले भनिन्।

उपाध्यक्ष राईका अनुसार गाउँपालिकामा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखिएको छ। मुहान नभएका ठाउँमा प्लास्टिक पोखरी वितरण गरेर पनि किसानलाई सहयोग गर्दै आएको उनले बताइन्। “गाउँपालिका खुक्काग्रस्त क्षेत्रमा पर्ने भए पनि हामी सिँचाइका विभिन्न विकल्पमार्फत किसानलाई सहजता पुर्‍याउँदै आएका छौँ,” उपाध्यक्ष राईले भनिन्।

स्थानीय भरतबहादुर कार्कीका अनुसार पोखरी निर्माणपछि आफूहरूले तरकारी र नगदेबाली खेती विस्तार गर्न सकेका छन्। “पोखरीको पानी प्रयोग गरेर खेती गर्दा राम्रो परिणाम मिलिरहेको छ,” उनले बताए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्