प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी कप फुटबल पुस ९ देखि

प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी कप फुटबल पुस ९ देखि

धरान । नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने कोशी प्रदेश अन्तरविद्यालय डीआईजी कप फुटबल प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।

आयोजक प्रहरी विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगितासम्बन्धी जानकारी दिएको हो।

प्रतियोगिता संयोजक सुरेशकुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको डीआईजी कप यस वर्ष पुनः सुरु गर्न लागिएको बताए । डीआईजी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको छ ।

विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य राखिएको छ । यो वर्षको नारा ‘मित्रताको लागि निष्पक्ष खेल’ रहनेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी हुनेछन्।

खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले मात्र खेल्ने पात्रता पाउनेछन् ।

विजेता टोलीले ८१ हजार ५ रुपैयाँ, उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाइ स्कोरर, राइजिङ प्लेयर तथा बेस्ट कोचले जनही २ हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विजेता खेलाडीहरूलाई कक्षा ११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति पनि उपलब्ध गराइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विजेता टोलीले प्राप्त ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनु पर्नेछ, सट्टामा रिपब्लिक ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्