इटहरी । चौधरी फाउन्डेसनले सुनसरीको गडी गाउँपालिका–७ मा अवस्थित सत्यमझोरा स्वास्थ्य चौकीमा प्रसूति सेवा सुदृढीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
सामग्री हस्तान्तरणसँगै स्वास्थ्य चौकीभित्र आधुनिक प्रसूति केन्द्र सञ्चालनको बाटो खुलेको छ।
फाउन्डेसनले स्वास्थ्य चौकीलाई आवश्यक आधुनिक उपकरण तथा सामग्री उपलब्ध गराई प्रसूति केन्द्रलाई मापदण्डअनुसार सुसज्जित बनाउन सहयोग गरेको हो । हस्तान्तरण समारोहमा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गढी गाउँपालिकाका पदाधिकारी, स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा चौधरीले मातृ–शिशु स्वास्थ्य चौधरी फाउन्डेसनको दीर्घकालीन प्राथमिकता रहेको बताउँदै प्रत्येक आमाले सुरक्षित वातावरणमा प्रसूति गर्ने अवसर पाउनुपर्ने बताए । समुदाय तहमै मातृ तथा नवजात स्वास्थ्य सेवा बलियो बनाउनु अत्यावश्यक रहेको कार्यक्रमका सहभागीको भनाइ थियो ।
सुनसरीमा गरिएको यो पहल चौधरी फाउन्डेसनले सातै प्रदेशमा सञ्चालन गरिरहेको प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमको एक भाग भएको बताइएको छ । संस्थाले स्थानीय आवश्यकता अनुसार प्रसूति केन्द्रहरूलाई आधुनिक उपकरण र पूर्वाधारले सुदृढ गर्दै आएको छ।
फाउन्डेसनले हालसम्म नवलपरासीको पक्लिहवा, नवलपुरको देवचुली नगर अस्पताल र सप्तरीको फत्तेपुर स्वास्थ्य चौकीसहित चार स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिसकेको छ। चौधरी फाउन्डेसनले नेपालमा सुरक्षित मातृत्व, बाल स्वास्थ्य, महिला सशक्तीकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्य प्राप्तिमा निरन्तर योगदान दिँदै आएको जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!