कोशीमा ३५ लाख ९१ हजार मतदाता, १ लाख ५७ हजार नयाँ

कोशीमा ३५ लाख ९१ हजार मतदाता, १ लाख ५७ हजार नयाँ

विराटनगर । कोशी प्रदेशमा १ लाख ५७ हजार ६१३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक गत असोज १० देखि मंसिर ५ गतेसम्म थप गरेको मतदाता नामावली दर्ता प्रक्रियामा उनीहरुले मतदाता सुचीमा नाम दर्ता गरेका हुन् ।

जिल्ललामा रहेका निर्वाचन कार्यालयमार्फत प्रत्यक्ष र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कार्यालयमै पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९२५ छ भने राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६८८ मतदाता थपिएका छन् ।

नयाँ मतदाता नामावली सङ्कलन गर्नुअघि कोशीमा १० सम्म ३४ लाख ३३ हजार ९ सय मतदाता रहेका थिए । अब त्यो संख्या ३५ लाख ९१ हजार ५१३ पुगेको छ ।

नयाँ मतदाता थपिनेमा सबैभन्दा बढी मोरङबाट ४४ हजार ४०२ जनाको नाम दर्ता भएको । त्यसपछि क्रमशः झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ जना नयाँ मतदाता थपिएका छन् । ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३८९, इलामबाट ६ हजार ६४, संखुवासभाबाट २ हजार ८०८, तेह्रथुमबाट ३ हजार ६७७, धनकुटाबाट ३ हजार २७२ मतदाता थपिएका छन् । त्यसैगरी, भोजपुरबाट २ हजार ९०९, खोटाङबाट ४ हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट ५ हजार ९३२ र उदयपुरबाट ८ हजार ७१७ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ मतदातालाई समावेश गर्न फोटोसहितको नामावली सङ्कलन गरेको हो । आयोगले अहिले सङ्कलन भएका मतदाताहरूको नामावलीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ ।

दोहोरिएका र पायक पर्ने स्थानबाट नामावली दर्ता गरेका मतदाताको विवरण अद्यावधिक गर्ने तथा त्रुटि सच्याउने कार्य हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्