विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा सम्पन्न ‘विराटनगर महानगर स्तरीय लोकनृत्य प्रतियोगिता’ को उपाधि मोर्डन एरा स्कुल र कान्तिपुर स्कुलले जितेका छन् । प्रतियोगिताको सिनियरतर्फ मोर्डन एरा र जुनियरतर्फ कान्तिपुर स्कुल प्रथम भएका हुन् ।
प्रतियोगिताको जुनियर विधातर्फ गौतमबुद्ध स्कुल द्वितीय र इडेन नेशनल स्कुल तृतीय भएका छन् भने पोलस्टार स्कुलले सान्त्वना स्थान हासिल गरेको छ ।
त्यस्तै, सिनियर विधातर्फ एजेलिया स्कुल द्वितीय र बिकेभिएम स्कुल तृतीय भएका छन् ।
प्रतियोगितामा विराटनगर महानगर क्षेत्रका कुल ३२ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसमा जुनियरतर्फ २० र सिनियरतर्फ १२ विद्यालय सहभागी भएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
महानगर स्तरीय यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूले आगामी शनिबार प्याब्सन मोरङले आयोजना गर्ने ‘जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता’ मा सहभागिता जनाउनेछन् । अध्यक्ष श्रेष्ठका अनुसार अहिले मोरङका प्रत्येक पालिकाहरूमा छनोट चरणको प्रतियोगिता भइरहेको छ । पालिकाबाट छनोट भएका विद्यालयहरूले जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
विद्यार्थीभित्र रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने तथा लोक संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले प्याब्सनले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!