विराटनगर । विराटनगर महानगरपालिका–७ जलजला चोकदेखि अगाडि रहेको सरस्वती प्लास्टिक उद्योगको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान ९ बजे सुरु भएको आगलागी करिब दुई घण्टाको प्रयासपछि बिहान ११ बजे नियन्त्रणमा लिइएको हो ।
उद्योगी शिवशंकर अग्रवालको स्वामित्वमा रहेको उक्त उद्योगको गोदाममा प्लास्टिक उत्पादनका लागि राखिएको कच्चा पदार्थमा आगलागी भएको थियो । आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाका दुई वटा र बेलबारी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । दमकल र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको विराटनगर महानगरपालिका नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको डिएसपी चुडालले जानकारी दिइन् ।
गोदाममा प्रज्ज्वलनशील कच्चा पदार्थ प्लास्टिक रहेका कारण आगोले ठूलो रूप लिएको अनुमान गरिएको छ । मानवीय क्षति भने भएको छैन ।






अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!