हिमालयन फुडले २७ अर्ब लगानीमा भैंसीको मासु प्रशोधन उद्योग निर्माण गर्दै

हिमालयन फुडले २७ अर्ब लगानीमा भैंसीको मासु प्रशोधन उद्योग निर्माण गर्दै

विराटनगर । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले सिन्धुलीको मरिण गाउँपालिकामा करिब २७ अर्ब ६४ करोड रुपियाँको लगानीमा अत्याधुनिक भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने भएको छ। नेपालबाट चीनमा प्रशोधित मासु निर्यात गर्ने मुख्य उद्देश्यका साथ मङ्सिरको अन्तिम सातादेखि कारखानाको निर्माण कार्य सुरु हुनेछ।

कुल २७ अर्ब ६४ करोड रुपियाँ लागत रहेको यस परियोजनामा २० अर्ब रुपैयाँ चीनको ‘छेङ्दु जियान फुड लिमिटेड’ बाट प्रत्यक्ष वैदेशिक लगानीको रूपमा भित्रिनेछ, जसलाई उद्योग विभागले स्वीकृति दिइसकेको छ। बाँकी ७ अर्ब रुपैयाँ पशुपालन, आवास र घाँस खेतीमा खर्च गरिनेछ। हालसम्म ५० करोड रुपैयाँ विदेशी लगानी आइसकेको कम्पनीका अध्यक्ष डा. नवीन शर्माले जानकारी दिए ।

५५ बिघा क्षेत्रफलमा निर्माण हुने यो कारखानाले दैनिक ५ हजार राँगा तथा भैंसी प्रशोधन गरी ५ सय मेट्रिक टन मासु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

वार्षिक रूपमा २ लाख मेट्रिक टन प्रशोधित मासु र ५५ हजार मेट्रिक टन सह–उत्पादन (हाड, छाला आदि) उत्पादन गरी निर्यात उद्योगको योजना छ । उत्पादित मासु सिन्धुलीबाट काठमाडौँ हुँदै केरुङ नाका मार्फत चीन निर्यात गरिनेछ।

उद्योग सञ्चालनमा आएपछि ५ हजार १५६ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। कारखाना निर्माण कार्य दुई सिफ्टमा काम गरेर आठ महिनाभित्र सम्पन्न गर्ने र एक वर्षभित्र मासु निर्यात सुरु गर्ने कम्पनीको योजना छ।

कम्पनीले किसानलाई व्यावसायिक भैंसीपालनमा आकर्षित गर्न देशभर समूह गठन गरेको छ भने बर्दियाको गुलरियामा घाँस उत्पादनको प्रक्रिया समेत सुरु गरिसकेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्