विराटनगर। औषधी व्यवस्था विभाग विराटनगरले सोमबार गरेको अनुगमनका क्रममा दुईवटा फार्मेसी पसल शिलबन्दी गरेको छ।
विभागले विराटनगर–९ र १० का १२ वटा फार्मेसीमा अनुगमन गर्दा आवश्यक कागजात नभएका र नियमविपरीत औषधि बिक्री गर्ने फार्मेसी बन्द गरिएको हो।
औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत सन्देश पौडेलका अनुसार विभागको नियमअनुसार कागजात नदेखाएको र अनियमित रूपमा औषधि बिक्री–वितरण गरिएकाले दुई फार्मेसीमा सिलबन्दी गर्नुपरेको हो। अनुगमन टोलीले विराटनगर न्युरो हस्पिटल अगाडि रहेको ‘ज्ञानु फार्मेसी’ र ‘फेसबुक फार्मेसी’लाई शिलबन्दी गरेको छ।
अनुगमनका क्रममा फार्मेसीबाट नियमविपरीत बिक्रीको लागि राखिएका औषधि तथा आवश्यक कागजात विभागले नियन्त्रणमा लिएको छ। दुवै फार्मेसीका सञ्चालकलाई स्पष्टीकरण तथा थप अनुसन्धानका लागि विभागमा उपस्थित हुन भनिएको छ।
विभागले यसअघि पनि विराटनगरका विभिन्न स्थानमा अनुगमन गर्दै नियम विपरीत सञ्चालन भइरहेका फार्मेसीहरूलाई कानुनी दायरामा ल्याउँदै आएको जनाएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!