लोड हुँदैछ...

मेनु

महाधिवेशन नगरे सभापति देउवाले राजीनामा दिनुपर्छ: शर्मा

महाधिवेशन नगरे सभापति देउवाले राजीनामा दिनुपर्छ: शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नगरेमा सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।

सोमबार जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेका इलामस्थित कांग्रेस कार्यालयको अवलोकनपछि नेता तथा कार्यकर्तासँग बोल्दै शर्माले आगामी महाधिवेशनबारे दुई विकल्प प्रस्तुत गरेका छन्।

नियमित महाधिवेशन सम्भव हुने पहिलो विकल्प र सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्ने दोस्रो विकल्प उनले सार्वजनिक गरेका हुन् । सबै पक्ष एकताबद्ध भएर जुटेमा समय कम भए पनि पुस अन्तिम सातासम्म नियमित महाधिवेशन सम्भव रहेको उनको भनाइ छ।

“विकल्प दुई वटा छन्,” उनले भने, “अबको बैठकबाट कार्यतालिका बनाएर पुस अन्तिम सातासम्म महाधिवेशन गरौं, आवश्यक परे थप १५ दिन समय लिएर सम्पन्न गरौं।”
उनले शान्तिपूर्ण वातावरण तथा हिमाली क्षेत्रका मौसमी प्रतिकूलताका कारण समानुपातिक सूची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि राजनीतिक सहमतिबाट केही सार्न सकिने सम्भावना रहेको बताए।

दोस्रो विकल्पको रूपमा उनले ‘सुवर्ण शमशेर पथ’ पछ्याउँदै सभापति देउवाले स्वयं मार्गप्रशस्त गर्न सक्ने उल्लेख गरे। “२०१४ सालझैँ सभापतिज्यूले अगाडि बढिदिन सक्नुहुन्छ,” उनले भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि बढ्न सक्दैन। त्यसपछि २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन र २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिन्छ।”

महामन्त्री शर्माले इलाममा गएको बाढी–पहिरोबाट प्रभावित क्षेत्रहरू अवलोकन गर्दै केन्द्र सरकारको निष्क्रियता प्रति कडा प्रश्नसमेत उठाएका छन्। “सरकार व्यक्ति होइन, संस्था हो,” उनले भने, “इलामको हरेक पीडितलाई राहत, उद्धार र पुनःस्थापनाको काम तुरुन्त तीव्र बनाउनुपर्नेमा केन्द्र सरकार भइरहेको छैन। इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो?”

उनले संकटका घडीमा जुनसुकै सरकार भए पनि ‘सरकार छ’ भन्ने अनुभूति नागरिकलाई दिलाउनैपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds