विराटनगर । नेकपा एमाले परित्याग गरेको भन्दै उदयपुरको चौदण्डीगढी नगरपालिकामा मेयर कालुमान लामाले एक वडाध्यक्षलाई गैरकानुनी रुपमा पदमुक्त भएको पत्र दिएका छन् ।
आफू निर्वाचित भएको दल नेकपा (एमाले) परित्यागको घोषणा गरेलगत्तै वडा नं. ७ का अध्यक्ष केशव अधिकारीलाई नगर प्रमुख लामाले पदमुक्त गरिएको पत्र थमाएका हुन् ।
विवाद यतिमै सीमित रहेन । वडाध्यक्ष अधिकारी बस्ने कुर्सी र नेमप्लेट समेत मेयर लामाले नगर प्रहरी लगाएर उठाएका छन् । गैरकानुनी रुपमा जनप्रतिनिधिलाई पदमुक्त गरेको पत्र दिएका लामाले वडाध्यक्ष बस्ने कुर्सी समेत उठाएर लगेपछि अधिकारीले प्रहरीमा ‘चोरी’को उजुरी दिएका छन्।
अधिकारीका अनुसार उनी काम विशेषले जिल्ला प्रशासन कार्यालय गएको अवसर छोपेर नगरपालिकाबाट कुर्सी र नेमप्लेट गायब पारिएको हो । ‘मेरो कुर्सी र टेबल हराएको देखेपछि म चकित भए’ अधिकारीले भने, ‘कार्यालयका सामान चोरी भएपछि प्रहरीमा उजुरी दिएको छु।’
नगर प्रमुख लामाले अधिकारीलाई पदमुक्त गरिएको पत्र पठाइएको स्वीकार गरेका छन् । मिति २०८२ मंसिर ५ गते पठाइएको पत्रमा अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय जिल्ला पार्टी कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको उल्लेख छ।
लामाले अधिकारीलाई पदमुक्त गर्दै वडा सदस्य बलराम मगरलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेका छन् । वडाध्यक्षको कुर्सी र नेमप्लेट आफूले नगर प्रहरीमार्फत उठाएको आरोप भने उनले अस्वीकार गरेका छन्।
‘नगरपालिकामा कार्यक्रम हुँदा कुर्सी नपुगेर कर्मचारीले ल्याएको हुनसक्छ, फिर्ता जान्छ,’ उनले भने, ‘वडाध्यक्षले जनताको काम नगरेको गुनासो आइरहेको थियो, दल त्याग गरेपछि पार्टीको निर्णयअनुसार प्रक्रिया अघि बढाएका हौँ।’
कानुनी रूपमा भने जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई मेयरले पदबाट हटाउने अधिकार हुँदैन । दल त्यागको अवस्थामा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले पद रिक्त भएको घोषणा गर्नुपर्ने कानुनी प्रावधान छ।
मेयरको कदमलाई वडाध्यक्ष अधिकारीले ‘राजनीतिक प्रतिशोध र शक्तिको दुरुपयोग’को संज्ञा दिँदै नगरपालिकाको लेटरप्याड दुरुपयोग गरेको भन्दै कानुनी मुद्दा दर्ता गर्ने चेतावनी दिएका छन्। प्रहरीले भने घटना राजनीतिक भएको भन्दै कुनै टिप्पणी नगरेको जनाएको छ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!