दुर्गा प्रसाईं समूहको आन्दोलनका कार्यक्रम फिर्ता

दुर्गा प्रसाईं समूहको आन्दोलनका कार्यक्रम फिर्ता

विराटनगर । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आइतबारदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो ।

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै सहमति गरेको छ । सहमतिलगत्तै महाअभियानले आइतबारदेखि प्रसाईले घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी सरकारी वार्ता टोली र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच वार्ता भएको थियो । अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित छिट्टै गर्ने सहमति भएको बताइएको छ ।

प्रसाईंलाई १ मंसिर राति भक्तपुरस्थित निवासबाट सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन् । त्यसको आज सुनुवाइ हुँदैछ ।

शनिबार रातिको वार्तामा महाअभियानको तर्फबाट दुर्गा प्रसाईंंका छोरा निराजन र सचिव प्रेमदीप लिम्बू सहभागी थिए । यस्तै, अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपाने पनि बालुवाटार पुगेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्