चुनावमा भाग लिने काँग्रेसको निर्णय

चुनावमा भाग लिने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जनताले उठाएको मागलाई संस्थागत रूपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको हो।

त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ। तर, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन।

काँग्रेसले निर्वाचनको वातावरण निर्माण गर्न आग्रहसमेत गरेको छ। आम नागरिकलाई भयरहित वातावरण बनाउन काँग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरूलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ।
पार्टी महाधिवेशनको विवाद नमिलेका कारण त्यसबारेमा भने बैठकले कुनै निर्णय गर्न सकेन। महामन्त्री गगन थापाले यस सम्बन्धमा फेरि छलफल गरेर बैठक बस्ने बताए। फागुन २१ को निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछाडि भन्ने विवाद नमिलेको अवस्थामा काँग्रेसले राष्ट्रिय राजनीतिका विषयमा भने निर्णय गरेको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्