काठमाडौं । मार्क वाटले विस्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ। लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो।
कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए। उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का प्रहार गरे। उनले बाउन्ड्रीबाटै ९६ रन जोडेका थिए। यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए।
ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। पहिलो खेलमा ९० रन बनाएका पाञ्चल आज १२ रन बनाएर आउट भए। लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पाञ्चललाई क्याच आउट गराए।
त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले उत्कृष्ट साझेदारी गरे। दोस्रो विकेटका लागि वाट र बोसिस्टोले शतकीय साझेदारी गर्दै जितको सुनिश्चितता गरे। बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो।
लुम्बिनीका लागि रोहित कुमार पौडेलले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे। रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे। उनले १ चौका र ३ छक्का प्रहार गरे।
यस्तै जेजे स्मिथले १४ बलमा २ चौका र १ छक्का मद्दतमा २३ तथा डार्शी सटले १९ रन जोडे। बलिङमा कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले ११ विकेट लिए।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!