विराटनगर । मोरङको कटहरी गाउँपालिका हुँदै जाने करिब ६ किलोमिटर सडक खण्डको दुर्दशाले दैनिक हजारौं श्रमिक, यात्री र स्थानीयको जीवनलाई जोखिममा पारेको छ ।
यो सडक खण्ड औद्योगिक क्षेत्रसँग जोडिएको हुनाले हजारौं श्रमिकको दैनिक आवतजावतको मुख्य मार्ग हो । तर, सडकको सतहमा रहेका अनगिन्ती खाल्डाहरूले उनीहरूको यात्रालाई हरेक दिन भयानक बनाइदिएको छ । कटहरी गाउँपालिका–२ का पूर्ववडाअध्यक्ष किशोर पाण्डेको खाल्टाखुल्टीको कारणले दुर्घटनाको अवस्था भयावह रहेको बताए । “खाल्डाखुल्डीले गर्दा साइकलयात्रीहरू लडेर घाइते हुनु त यहाँ सामान्य भइसक्यो,” उनी भन्छन्, “कतिपय गम्भिर दुर्घटनामा परेर ज्यानसमेत गएको छ । तर, जनताको यो चित्कार कसले सुन्ने ? ।”
पाण्डेका अनुसार, धुलो र खाल्डो छल्न खोज्दा सवारीसाधनहरू एकआपसमा ठोक्किने र पैदलयात्रीलाई समेत किचने खतरा बढेको छ । यही दुर्दशाको पछिल्लो उदाहरण हुन्, इलामका २१ वर्षीय सुशील पौडेल । गत जेठ २८ गते कटहरी–२ स्थित गोपाल फन पार्क अगाडि, पौडेल आफ्नो साइकलमा गन्तव्यतर्फ जाँदै थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले उनलाई ठक्कर दियो । गम्भीर घाइते भएका उनको विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा निधन भयो । यो एउटा प्रतिनिधि घटना हो, यस सडकमा यस्ता दुर्घटनाहरू दिनहुँजसो घटिरहेका छन् ।
पछिल्लो २८ महिनामा हुलाकी राजमार्गको कटहरीस्थित संघीया खोलादेखि नयाँबजार अगाडिको जुडी खोलाको पुलसम्मको छोटो दूरीमा मात्रै १४ जनाले ज्यान गुमाएका छन् । यसै अवधिमा १३९ जना घाइते भएका छन्, जसमध्ये कयौंले गम्भीर चोट बोकेर बाँचिरहेका छन् । आर्थिक वर्ष २०७९÷८० मा यस खण्डमा ३४ वटा दुर्घटना भए । जसमा ९ जनाको मृत्यु भयो । ६ जना गम्भीर घाइते र ३० जना सामान्य घाइते भए । आर्थिक वर्ष २०८०÷८१ मा दुर्घटना संख्या बढेर ५० पुग्यो । यस अवधिमा २ जनाको मृत्यु भएको मोरङ ट्राफिकको अभिलेखमा देखिन्छ । जसमा ७ जना गम्भीर घाइते र ६२ जना सामान्य घाइते भए ।
चालु आर्थिक वर्ष (कात्तिकसम्म) चार महिनाको अवधिमा ३८ वटा दुर्घटनमा भइसकेका छन् । जसमा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर र ३२ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने सडकको भौतिक अवस्था नै दुर्घटनाको मुख्य कारण रहेको स्वीकार्छन् । “यस सडकमा धेरै दुर्घटना सडकको कारणले नै हुने गरेको छ,” उनले भने, “धेरै खाल्डाखुल्डी भएकोले सवारीसाधन अनियन्त्रित भएर दुर्घटनामा पर्छन् ।”
यो क्षेत्र औद्योगिक करिडोर भएकाले दैनिक सयौं मालवाहक सवारीसाधन यही सडक भएर ओहोरदोहोर गर्छन् । तर, जीर्ण सडकले ती सवारीसाधनलाई समेत जोखिममा पारेको छ । “सामान बोकेको गाडी पल्टिएको दिनै हुँदैन,” कटहरी–२ का स्थानीय सुवास यादव आक्रोश पोख्छन्, “समयमै सडक नबनेको कारणले हुलाकी सडकभरी खाल्डाखुल्डी छ । सामान बोकेको गाडी पल्टिँदा यात्रुहरूको ज्यान समेत जाने गरेको छ ।” चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिकसम्म) मा मोरङमा ७४८ दुर्घटनामा ३८ जनाको मृत्यु भइसकेको छ । ७४ जना गम्भीर घाइते र १ हजार ७३ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा कुल २ हजार ०५८ दुर्घटना भएकोमा १२५ जनाको मृत्यु भएको थियो भने २४६ जना गम्भीर र ३५० जना सामान्य घाइते भएका थिए ।
६ वर्षअघि सुरु भएको यो सडक निर्माणको काम आजसम्म केवल २७ प्रतिशतमा सीमित छ । बाँकी ७३ प्रतिशत हिस्सा नागरिकका लागि धुलो, हिलो र अनगिन्ती खाल्डाहरूको पासो बनेको छ ।
हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलादेखि केशलिया खोलासम्मको ४४ किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्न तीन अर्ब ६० करोड रुपैयाँमा २०७६ सालमा ठेक्का लागेको थियो । त्यसैको एउटा हिस्सा, कटहरी गाउँपालिका भित्र पर्ने सिंघीया खोलादेखि जुडीखोलासम्मको ६ किलोमिटर खण्ड हो । जसको निर्माण जिम्मा ७६ करोड रुपैयाँमा काठमाण्डौंको श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!