ताप्लेजुङ । ताप्लेजुङ्गस्थित ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा शनिबार बिहान हिउँ परेको छ।
पाथीभरा क्षेत्र विकासका अनुसार बिहानैदेखि फुरफुर हिउँ परिरहेको छ र क्षेत्र अत्यधिक चिसो बनेको छ।
अझै हिउँ थपिएला कि, पानी पर्ला कि जस्तो मौसम छ रहेको समितिले जनाएको छ।
हिउँ र बढ्दो चिसोका बीच पनि करिब तीन हजार तीर्थयात्री लाइनमै बसेर पूजा गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनले तीर्थयात्रीलाई चिसोबाट जोगाउन तथा पूजा गर्न सहज बनाउन बिहानैदेखि समन्वय भइरहेको बताए।
महतका अनुसार बिहान हिउँ परिरहेका बेला तीर्थयात्रीहरू प्लास्टिक र छाता ओढेर मन्दिरसम्म पुगेका थिए। अधिकांश तीर्थयात्री ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदी र २४ सय मिटर उचाइको काफ्लेपट्टीमा शुक्रबार बेलुका नै गएर बस्ने, र शनिबार बिहानै मन्दिर पुगेर पूजा–आराधना गर्ने गरेका छन्।
सदरमुकाम फुङलिङबाट जाने तीर्थयात्री पनि प्रायः बिहानै मन्दिर हिँड्ने गरेका छन्। अन्य बारको तुलनामा शनिबार अधिक तीर्थयात्री आउने तथ्याङ्क समितिसँग रहेको छ।
काफ्लेपट्टीदेखि मन्दिरसम्म करिब ५ किलोमिटर पैदल दूरी छ। काफ्लेपट्टीदेखि माथिल्लो फेदीसम्म करिब अढाइ किलोमिटर र त्यहाँबाट मन्दिरसम्म थप अढाइ किलोमिटर दूरी छ। माथिल्लो फेदीदेखि मन्दिर क्षेत्रमा प्रायः हिउँ पर्ने गरेको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!