जसले ‘बौलायो’ भने, उसैलाई देखाइदिए बल्जित ५७ लाख कमाएर

जसले ‘बौलायो’ भने, उसैलाई देखाइदिए बल्जित ५७ लाख कमाएर

विराटनगर । जब पहाडका घरहरू रित्तिँदै छन् र युवाहरू सुनौलो भविष्यको खोजीमा खाडी वा सहर पस्दैछन्, त्यही पहाडको पाखोमा एक व्यक्तिले ुझारपातु बाट सुन फलाएर बसाइँ सराइको लहरलाई चुनौती दिइरहेका छन् । अवसर खोज्न विदेश वा तराई झर्नु पर्दैन, आफ्नै माटोमा पसिना बगाए पुग्छ भन्ने खोटाङको खोटेहाङ गाउँपालिकाका ६८ वर्षीय बल्जित राईले अलैँची खेतीबाटै वार्षिक ५७ लाख रुपैयाँ कमाएर प्रमाणित गरेका छन् ।

तीन दशकअघि जब बल्जितले धान र मकै फल्ने बारीमा अलैँची रोपे, गाउँलेले उनलाई बौलायो भने । तर आज, उनको त्यही ूबौलाहाू कदमले सिङ्गो गाउँको मुहार फेरेको छ र पहाडबाट पलायन हुनेहरूका लागि एउटा सशक्त उदाहरण बनेको छ । ‘लाखौं खर्च गरेर विदेशिने युवाहरूका लागि बल्जितको यो सफलता एउटा सशक्त उदाहरण हो कि आफ्नै माटोमा पसिना बगाउन सके पैसा कमाउन कहीँ जानु पर्दैन,’ यो भनाइ आज उनको गाउँमा यथार्थ बनेको छ ।
बल्जित राईको सफलताको कथा कुनै चामत्कारिक होइन, यो अथक मेहनत र दूरदर्शिताको परिणाम हो । यसै वर्ष करिब ३–४ लाखको लगानीमा उनले ६२ मन अलैँची फलाए र त्यसलाई ५७ लाख रुपैयाँमा बेचे । यो आम्दानीले उनलाई आर्थिक रूपमा सम्पन्न मात्र बनाएको छैन, पहाडमा अवसर छैन भन्ने निराशाजनक भाष्यलाई पनि तोडेको छ ।
उनी दृढताका साथ भन्छन्, ‘पहाडमा अवसर छैन भन्छन्, तर मलाई त यहीँको जीवन ठीक लाग्छ । तराईमा गएर वा विदेशमा दुःख गर्नुभन्दा आफ्नै बारीमा मेहनत गर्दा सुख र पैसा दुवै छ ।’ उनका तीन छोरामध्ये दुईजना उनीसँगै छन्, ।
बल्जितको सफलता उनीमा मात्र सीमित रहेन । उनबाट प्रेरणा पाएर आज खोटेहाङ–३ सावाकटहरेका अधिकांश घरधुरी अलैँची खेतीमा लागेका छन् । हिजो उनलाई हाँस्नेहरू आज उनको सिको गर्दैछन् । कसैले १० मन, कसैले २० मन अलैँची फलाउँछन् । उनका भतिजा, जो वडाध्यक्ष पनि हुन्, जेफर राईले यस वर्ष ४० मन अलैँची उत्पादन गरे । बल्जित भन्छन्, ‘अब त हाम्रो गाउँ नै अलैँची गाउँ भएको छ ।’

पहाडमा विकास नपुगेर मानिसहरू बसाइँ सरेको तर्क गर्नेहरूलाई बल्जितको फरक मत छ । उनी भन्छन्, ‘अहिले गाउँसम्म नै बाटो बनेको छ, धेरैतिर कालोपत्रे पनि भइसक्यो । पहाडतिर विकास उक्लेको उक्लै छ, तर मान्छे तराईतिर झर्दैछ । यहाँको रुखदेखि स्कुससम्म बिक्छन्, अनि मानिस किन अन्यत्र अवसर खोज्दै जान्छ मैले बुझ्न सकिनँ ।’

अलैँची, किवी र अन्य नगदे बालीले पहाडको अर्थतन्त्रलाई कायापलट गर्न सक्ने सम्भावना छ । बसाइँ सराइको कहालीलाग्दो चित्रलाई बदल्न सक्ने बल्जित बताउछन् ।

बल्जित राई एक सफल किसान मात्र होइनन्, उनी एक संस्था हुन् । उनले रोपेको अलैँचीको बोटले फल मात्र होइन, पहाडमै बस्ने आशा र प्रेरणा पनि फलाएको छ । झारपात’ बाट सुरु भएको उनको यात्राले आज पहाडबाट युवा पलायन रोक्ने अचुक औषधिको काम गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्