जेनजी आन्दोलनमा लुटिएका गोलीसहित झापामा दुई जना पक्राउ

जेनजी आन्दोलनमा लुटिएका गोलीसहित झापामा दुई जना पक्राउ

विराटनगर । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएका ५४ थान गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसोबिर्तामोड नगरपालिका –२, राम चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा न। ४, चकचकी घर भई हाल बिर्तामोड–२ राम चोकमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुन र सोही स्थानका २२ वर्षीय विकास टुडु रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खातुनको कोठामा लुकाइराखेको अवस्थामा उक्त गोली बरामद गरेको हो ।
प्रहरीले खातुनको कोठाबाट एसएलआर राइफलका ३८ राउन्ड र इन्सास राइफलका १६ राउन्ड गरी जम्मा ५४ राउन्ड गोली बरामद गरेको छ । साथै, प्रहरीले घटनास्थलबाट काँसको थाल, करुवा, पित्तलको गिलास र प्रहरीले लगाउने एक जोर बुट समेत बरामद गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा झापाका अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयहरूमा आक्रमण, तोडफोड, आगजनी र हतियार लुटपाटका घटना भएका थिए । सोही क्रममा लुटिएका हतियार तथा गोलीगट्ठाको खोजी कार्य प्रहरीले जारी राखेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्