कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काले लिए शपथ

कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काले लिए शपथ

विराटनगर । कोशी प्रदेश सभाको सचिव पदमा नियुक्त सुदर्शन खड्काले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।

संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टले शपथ गराएका हुन् । उनलाई सभामुख विष्टकाे सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् । उनकाे शपथग्रहण कार्यक्रम प्रदेशसभा सचिवालयकाे कटहरीस्थित नयाँ कार्यालयस्थलमा भएकाे हाे ।

सचिवमा नियुक्त भएका खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन् । ५६ वर्षीय उनी २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म संघीय संसद सचिवालयमा सचिवका रूपमा कार्यरत थिए । संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको पदमा उनी बढुवा भएका थिए ।

नवनियुक्त सचिव खड्कासँग संघीय संसदमा लामो समय काम गरेको अनुभव छ । उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा संघीय संसद सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए ।

खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (एक वर्षे बीएड) गरेका छन् । खड्काले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन् ।

प्रदेशसभाका सचिव पराजुली भ्रष्टचारी ठहर भएर स्वतः पदमुक्त भएपनि सचिव नियुक्त हुन सकेको थिए । पराजुलीलाई केहि समय अगाडि प्रदेशसभाले विदाई गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्