शिक्षादीपको उत्कृष्टताको परम्परा कायमै : एमबीबीएस प्रवेश परीक्षामा विभा छात्रातर्फ देशकै प्रथम

शिक्षादीपको उत्कृष्टताको परम्परा कायमै : एमबीबीएस प्रवेश परीक्षामा विभा छात्रातर्फ देशकै प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले शैक्षिक उत्कृष्टताको आफ्नो गौरवपूर्ण परम्परालाई निरन्तरता दिएको छ । कलेजमा अध्ययनरत छात्रा विभा कुमारी नायकले चिकित्सा शिक्षा आयोगद्वारा आयोजित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम हुँदै ऐतिहासिक सफलता हासिल गरेकी छिन् ।

आयोगले गत कात्तिक १५ गते सञ्चालन गरी मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार नायकले देशभरिका १७ हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै छात्रातर्फ सर्वोत्कृष्ट स्थान हासिल गरेकी हुन् । समग्र योग्यताक्रममा पनि उनले छैटौं स्थान ओगट्न सफल भएकी छिन् । यसैगरी, सोही कलेजका अन्य दुई विद्यार्थी श्रुति वरनवाल र पुष्पराज तिम्सिनाले पनि उत्कृष्ट नतिजा ल्याउँदै प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

यो ऐतिहासिक सफलताको खुसियालीमा शिक्षादीप कलेजले बुधबार कलेज परिसरमा एक विशेष समारोह आयोजना गरी नायकसहित अन्य उत्कृष्ट विद्यार्थीहरूलाई भव्य सम्मान गरेको छ । छात्रातर्फ देशकै सर्वोत्कृष्ट स्थान हासिल गरेकी नायकलाई कलेजले नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान ग¥यो । कार्यक्रममा बरनवाल र तिम्सिनालाई पनि उनीहरूको उत्कृष्ट प्रदर्शनका लागि विशेष सम्मान गरियो । उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरेका गरेका थिए ।

सम्मान ग्रहणपछि बोल्दै नायकले आफ्नो सफलताको श्रेय निरन्तरको लगनशीलता, कलेजको अनुशासित शैक्षिक वातावरण र गुरुहरूको कुशल मार्गदर्शनलाई दिइन् । उनले भनिन्, “मेहनत र सही दिशानिर्देश भयो भने सफलता अवश्य मिल्छ । म आफ्नो कलेज, शिक्षकहरू र परिवारप्रति सधैँ आभारी रहनेछु ।’

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विभाको सफलताले कलेजको मात्र नभई पूरै विराटनगरको शिर उच्च बनाएको बताए । उनले भने, “हाम्रा एक दर्जनभन्दा बढी विद्यार्थीले यसपटक एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका छन्, यो हाम्रो लागि गर्वको कुरा हो । हाम्रो लक्ष्य शिक्षादीपलाई देशकै नम्बर एक कलेज बनाउनु हो र यो नतिजाले हामीलाई थप ऊर्जा दिएको छ ।’’

उनले सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । शिक्षादीप कलेजले विगतका वर्षहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । वि.सं. २०७९ मा पनि यसै कलेजकी छात्रा अदिती कुमारी जैनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रातर्फ टपर बन्ने गौरव प्राप्त गरेकी थिइन् । उनले २०० पूर्णाङ्कमा १७१.५ अंकसहित सर्वोत्कृष्ट नतिजा निकालेकी थिइन् ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक–शिक्षकको कारण शिक्षादीप कलेज देशभरीमै सबैभन्दा बढी विद्यार्थी एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्ने कलेजको रुपमा परिचित छ । यहाँबाट उत्तीर्ण हजारौं विद्यार्थीहरू आज चिकित्सा, इन्जिनियरिङ, आईटीलगायत अन्य प्राविधिक र वित्तीय क्षेत्रमा आफ्नो सफल करियर बनाइरहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्