काठमाडौं । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको २०२६ का लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्। १५ वर्षपछि नेपालको पुनः प्रतिनिधित्व हासिल गर्ने यो उपलब्धि ऐतिहासिक मानिएको छ।
रजनी थापाले आफूले हासिल गरेको सफलता धैर्य, कडा परिश्रम र निरन्तरताको नतिजा भएको बताएकी छन्। नेपाल जेसीजले यसलाई नेपालको युवा नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति पुनः स्थापित हुने उपलब्धि भनेको छ। थापाको निर्वाचन नेपाली महिलाको सक्षम नेतृत्व र प्रतिबद्धताको प्रतीक बनेको छ।
नेपाल जेसीजले सन् २०११ मा पछिल्लो पटक अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो। यस अवसरले नेपालका युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त र प्रेरणादायी रूपमा प्रस्तुत गर्ने अवसर दिएको छ।
अन्तर्राष्ट्रिय जेसीज विश्वभर सक्रिय युवा नागरिकहरूको नेतृत्व विकास र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापित संस्था हो। सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यस संस्थामा हाल २०० भन्दा बढी देशमा करिब ५ लाख सक्रिय सदस्य छन्।
नेपालमा जेसीज सन् १९६५ देखि सक्रिय छ र १८–४० वर्ष उमेर समूहका युवाहरूसँग १७८ भन्दा बढी स्थानीय शाखाहरू मार्फत नेतृत्व विकास, उद्यमशीलता, समाज सेवा र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्दै आएको छ।
रजनी थापा २००९ देखि जेसीजमा सक्रिय रहँदै सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिँदै आएकी छन्। उनको उपाध्यक्ष निर्वाचनले नेपालको युवा नेतृत्व र महिला क्षमताको अन्तर्राष्ट्रिय मान्यता पुष्टि गरेको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!