झापाकी २२ वर्षीया मनिषा दाहालको कोरियामा भएको दुर्घटनामा निधन

झापाकी २२ वर्षीया मनिषा दाहालको कोरियामा भएको दुर्घटनामा निधन

विर्तामोड । विदेशमा उज्यालो भविष्य र उच्च शिक्षाको सपना बोकेर पुगेकी झापाकी २२ वर्षीया नेपाली छात्रा मनिषा दाहालको सडक दुर्घटनामा निधन भएको छ ।

दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा गत शनिबार सडक छेउ हिँड्दै गरेकी मनिषालाई मालवाहक ट्रकको ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइएको चिकित्सकहरूले उनको ज्यान जोगाउन सकेनन् ।

मनिषा झापाको कमल गाउँपालिका तोपगाछिकी हुन् । केही दिनअघि मात्र उनी साथीहरूसँग रमाइलो गर्दै २२औँ जन्मदिन मनाएकी थिइन् । कलेजको शनिवार–आइतबारको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्भाग्यवश यस दुःखद घटनाको शिकार भइन्।

मनिषाको शव नेपाल ल्याउने तयारीका लागि उनका परिवारका सदस्यहरू काठमाडौँ पुगेका छन् । कोरियामा रहेका नेपाली संघ–संस्थाहरूले शव ल्याउने प्रक्रिया सहज बनाउन तथा परिवारलाई भावनात्मक र आर्थिक सहयोग जुटाउने काममा सक्रियता देखाएका छन् ।

सामाजिक सञ्जालमा पनि नेपाली समुदायले शोक व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् । विदेशमा पढ्न गएका नेपाली विद्यार्थीहरू सवारी दुर्घटनाको शिकार बन्ने क्रम बढ्दै गएको तथ्यले विदेशी भूमिमा नेपालीहरूको सुरक्षा र सतर्कताप्रति गम्भीर प्रश्न उठाएको छ ।

कोरिया मात्र होइन, अस्ट्रेलिया, अमेरिका लगायत अन्य देशहरूमा पनि यस्ता घटनाले नेपाली परिवारहरूको मन रुवाइरहेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्