कांग्रेस महाधिवेशनको बहसमा अल्झिएको भन्दै भीम पराजुलीले पेश गरे ११ बुँदे प्रस्ताव

कांग्रेस महाधिवेशनको बहसमा अल्झिएको भन्दै भीम पराजुलीले पेश गरे ११ बुँदे प्रस्ताव

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टी नेतृत्व देशको गम्भीर परिस्थितिलाई नजरअन्दाज गर्दै केवल महाधिवेशनको तिथिमिति निर्धारण जस्तो विषयमा अल्झिएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले देश र पार्टीलाई निकास दिनका लागि ११ –बुँदे ठोस प्रस्ताव समेत प्रस्तुत गरेका हुन् ।

पराजुलीले देश गम्भीर मोडमा उभिएको बेला कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । । उनले भने ‘आज यश ऐतिहासिक घडीमा सामूहिकताको भाव बिर्सेर, कांग्रेसको मध्यमार्गी चरित्र बिर्सेर, केवल महाधिवेशनको तिथिमिति निर्धारणको बालहठमा तमासा गरिरहेका छौं ।’ उनले यदि पार्टीले वर्तमान परिस्थितिको निर्मम समीक्षा गरी उपयुक्त निकास ननिकाले कांग्रेस गौरवमय इतिहास भएको तर भविष्यहीन पार्टीमा दर्ज हुने खतरा रहेको चेतावनी दिए ।
जेन जी पुस्ताको चासो सभापति को बन्छ भन्नेमा नभई भ्रष्टाचाररहित सुशासन, चुस्त सरकारी सेवा र रोजगारीमा रहेको भन्दै उनले पार्टीका नेता र कार्यकर्ताका लागि आचारसंहिता बनाउनुपर्ने, असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने र पार्टीभित्र आर्थिक पारदर्शिता कायम गर्नुपर्ने माग गरेका छन् ।

बैठकमा पराजुलीले प्रस्तुत गरेका प्रस्तावहरू :

१. जेन जी प्रदर्शन र विकसित घटनाक्रमबारे :

जेन जीका भ्रष्टाचारविरोधी र सुशासन कायम गर्ने मागहरू आमजनताका माग हुन् । ती मागहरूलाई सम्बोधन गर्न नेपाली कांग्रेस अग्रसर हुनुपर्छ । तर, अर्कोतर्फ जेन जी प्रदर्शनको नाममा घुसपैठ गरी राष्ट्रिय सम्पदा, सरकारी भवन, पार्टी कार्यालय, व्यक्तिगत भवन, उद्योगधन्दा, कलकारखाना लगायतमा ठूलो जनधनको क्षति गर्ने, धार्मिक सहिष्णुता खलबलाउने, साम्प्रदायिक सद्भाव बिथोल्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्यको घोर भर्त्सना गर्दछु । यस्ता आपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारबाहीको माग गर्दछु । उद्योग(व्यवसायीहरूलाई आतंकित बनाउने कार्य भइरहेको छ । जेन जीका नाममा सेयर निःशुल्क माग्ने, चन्दा आतंक मच्चाउने लगायतका अवाञ्छित कार्य गर्ने र त्यसमाथि वर्तमान सरकारले संरक्षणसमेत गरेकोमा घोर भर्त्सना गर्दछु ।

विगतमा प्राप्त उपलब्धिहरूको रक्षाका साथै उद्योगी, व्यवसायी, कार्यकर्ता र जनताको गिरेको मनोबल उठाउन ढिलो भइसकेको छ । साथै, व्यक्तिगत स्वार्थका कारण देश गृहयुद्धमा फस्ने खतरासमेत बढेको छ । यस विषम परिस्थितिमा प्रवृत्ति परिवर्तन नगरी केवल पात्र मात्र परिवर्तन गरेर मुलुकले निकास पाउन सक्दैन ।

२. कांग्रेसका नेता र कार्यकर्ताहरूका लागि आचारसंहिता निर्माण गर्नुपर्ने :

महत्वपूर्ण विषयहरूमा कांग्रेसको केन्द्रीय समितिबाट निर्णय गराई आधिकारिक धारणाहरू सम्प्रेषण गर्ने वा बहसका लागि खुला गर्ने भनी निर्णय गरिएका विषयहरूमा मात्र बोल्न केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई विशेष अनुरोध गर्दछु ।

उदाहरणका लागि, कार्यकारी प्रधानमन्त्री नेपालका लागि किन आवश्यक छैन भन्ने कुरा आज विभिन्न विद्वान्हरूले भन्दै आएका छन् । सो कुरामा पार्टीमा प्रियतावादका नाममा देशलाई कति दूरगामी प्रभाव पार्छ भन्ने कुराको विश्लेषण नगरी केन्द्रीय नेतृत्वबाटै पटक(पटक बोल्नु पार्टी मात्र नभई देशका लागि पनि घातक हुनसक्ने कुरा सबैलाई मनन गर्न अनुरोध गर्दछु ।

३. नेपालको असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने, गराउने :

अन्तर्राष्ट्रिय रूपमा ुवर्ल्ड अर्डरु नै परिवर्तन हुनेगरी राष्ट्र(राष्ट्रबीचका सम्बन्धहरूमा परिवर्तन आएको छ । साथै, शक्ति सन्तुलनमा समेत परिवर्तन भएको कुरालाई आत्मसात् गर्न जरुरी छ ।

तर, विगतको नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामरिक विषयहरूमा नेपालले गैरजिम्मेवार ढंगबाट कुनै पक्षमा मतदान गर्ने तथा कार्यक्रमहरूमा सरिक भएकाले जापान, इजरायलजस्ता सदियौँदेखि दौत्य सम्बन्ध कायम भएका र नेपाललाई ठूलो सहयोग गरेका मुलुकहरूसँग समेत सम्बन्ध बिगार्ने किसिमका कार्यहरू भए । यस्ता कार्यहरूले समेत नेपाललाई हाल भोगेको समस्यामा प्रभावित पारेको कुरालाई नकार्न सकिँदैन । त्यसैले, विगतका गल्तीहरू सच्याई नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानिआएको असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने(गराउने कुरामा निरन्तर लागिरहोस् भन्ने कुरासमेत राख्न चाहन्छु ।

४. पार्टीको १५औँ महाधिवेशन तयारी, विधान अधिवेशन र भ्रातृ संगठनहरूको सम्बन्धमा :

हामीले हाम्रो चार वर्षे कार्यकाल पूरा गरिसकेका छौँ । यदि हामीले हामीलाई तोकिएको जिम्मेवारी समयमै पूरा गरेको भए आज नियमित अधिवेशन कि विशेष अधिवेशन भन्ने मुद्दा नै उठ्ने थिएन । महाधिवेशन तयारीका लागि लामो समयदेखि कमिटीसमेत गठन भएको परिप्रेक्ष्यमा किन हालसम्म पूर्वतयारी भएन, सोको समेत जानकारी माग गर्दछु ।

हाल नेपाली कांग्रेसका ४९ जिल्लाका पार्टी कार्यालयहरू जलेका छन् । केन्द्रीय कार्यालय जलेको छ । आवश्यक विभिन्न सामग्रीहरू जलेका छन् । केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको फारम भर्खर छाप्दैछ । हिमाली र पहाडी जिल्लामा मौसम प्रतिकूल हुँदै गइरहेको छ । फागुन २१ को चुनावका लागि हामीले हाम्रा विषय र मुद्दाहरू लिएर जनतामाझ जान ढिलो भइसकेको छ । आजसम्म हामीले बदलिएको परिस्थितिमा कांग्रेसका धारणासमेत बनाउन सकेका छैनौँ । बदलिँदो जनअभिमत बुझेका छैनौँ । जेन जीका धारणाहरू बुझेका छैनौँ । अन्तर्राष्ट्रिय परिवेश विश्लेषण गरेका छैनौँ । अतः यी महत्त्वपूर्ण कार्यतिर हाम्रो समय सदुपयोग गरौँ ।

साथै, मंसिर(पुसभित्रै पार्टीको विधान महाधिवेशन गरी पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्म आठै तहमा तथा नयाँ क्रियाशील वितरणमा जेन जी पुस्ताको न्यूनतम ३० प्रतिशत सहभागिता सुनिश्चित हुनेगरी विधानमा आवश्यक संशोधन र परिमार्जन गरौँ । साथै, नेपाली कांग्रेसले मंसिर(पुसभित्रै क्रियाशील नवीकरण गर्ने तथा नयाँ क्रियाशील वितरण सम्पन्न गरोस् । तत्पश्चात् केन्द्रीय कार्यसमितिको बैठक डाकी आगामी फागुन २१ मा आमनिर्वाचन हुने(नहुने परिस्थितिको आकलन गरी केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरौँ । यसै समय ९मंसिर(पुस० तालिकाभित्र भ्रातृ संघ(संगठनहरूको प्रजातान्त्रिक प्रक्रियाबाट अधिवेशन गरेर जेन जी युवाहरूलाई हरेक भ्रातृ संगठनमा समेत ३० प्रतिशत सहभागी हुनेगरी सम्पन्न गरौँ । यसो नगर्ने हो भने नेपाली कांग्रेस संगठनविहीन भई प्रियतावादले बनाएको तासको घरझैँ जुनसुकै बेला पनि धराशायी हुनसक्छ । साथीहरू, इतिहास निर्मम हुन्छ, बेलैमा सचेत बनौँ ।

५ . प्रतिनिधि सभा विघटन र घोषित फागुन २१ को चुनावका सम्बन्धमा :

प्रतिनिधि सभा यस्तो थलो हो, जसबाट जेन जी लगायत हरेकका मागहरू सम्बोधन हुन सक्थे । ती मागहरू सम्बोधन गर्ने थलोको विघटन हुनु आफैँमा दुःखद छ, जसले आजका समस्याको गाँठो फुकाउनुभन्दा अझ जटिल बनाउँदै लगेको हामीले महसुस गरेका छौँ । अहिले संसद् विघटन भएको छ । संविधान मूर्छित अवस्थामा रहेको छ ।

संविधान जोगाउने दुईवटा बाटा छन् :

एउटा विकल्प, नेपाली कांग्रेसको नेतृत्वमा जेन जी लगायत सम्पूर्ण दलहरूसँग छलफल गर्न तथा त्यसका लागि संविधानमा के(के परिवर्तनहरू गर्नुपर्छ भन्ने सर्वसम्मत धारणा निर्माण गरेर विघटित संसद् पुनर्स्थापनामार्फत समस्या हल गर्ने विकल्प खुला राख्ने निर्णय कांग्रेसले गरोस् र सो कार्यका लागि एक उच्चस्तरीय समिति निर्माण गरोस् ।

अर्को विकल्प, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले चुनावमा सहभागी हुने कुरालाई अन्यथा लिन मिल्दैन । अतः तोकिएको समयमा किन्तु(परन्तुबिना निष्पक्ष र भयरहित चुनाव गर्ने वातावरण कायम गर्न सरकारलाई दबाब दिने, सहयोग गर्ने र नेपाली कांग्रेस चुनावमा सहभागी हुने निर्णय आजैको बैठकबाट गरोस् भनी जोडदार माग गर्दछु ।

६ .आर्थिक पारदर्शिता कायम गर्ने :

नेपाली कांग्रेसले हालसम्म लाभको पदमा बसेका सबै राजनीतिज्ञ, संवैधानिक निकायका पदाधिकारी, उच्चपदस्थ कर्मचारीहरूको सम्पत्तिको जाँच गर्न सरकारद्वारा एक स्वतन्त्र सम्पत्ति छानबिन आयोग बनाउन माग गर्ने निर्णय गरोस् ।

यसैगरी, पार्टीका केन्द्रीय नेतृत्वमा रहने सबैले आफ्नो सम्पत्ति विवरण पार्टीमा अनिवार्य बुझाउनुपर्ने परिपाटीको विकास गरोस् ।

७ . सरकारी, निजी सम्पत्ति र ने।का। पार्टी कार्यालयहरूको पुनर्निर्माणको अगुवाइ नेपाली कांग्रेसले गर्ने :

देशभरका जलेका र भत्केका सरकारी संरचना शीघ्र निर्माण गर्न सरकारलाई दबाब दिने र आवश्यक सहयोगसमेत गर्नेजस्ता भूमिका खेल्ने निर्णय गरोस् ।

यसैगरी, बिमा नगरिएका क्षति भएका व्यक्तिका उद्योग, व्यवसाय, निजी भवन लगायत सम्पत्तिको क्षतिपूर्तिका लागि कांग्रेसले एउटा समिति बनाई पहल गरोस् ।

नेपाली कांग्रेस विविध जनजाति, भाषाभाषी, किसान, मजदुर, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी, व्यवसायी सबैको सहानुभूति प्राप्त गर्ने पार्टी हो । अतः जलेर क्षतविक्षत भएका कांग्रेसका केन्द्रीय लगायत पार्टी कार्यालय भवनहरूको पुनर्निर्माणमा सबैको सहभागिता सुनिश्चित हुने किसिमले कांग्रेस समर्थित व्यक्तित्वहरूको सहयोगमा पुनर्निर्माण गर्नुपर्दछ । यसका लागि केन्द्र र जिल्ला स्तरमा समितिहरू बनाई शीघ्र पुनर्निर्माण थालनी गरोस् ।

८ .मुलुकको शान्ति–सुरक्षा र सुशासनको अवस्था सम्बन्धमा :

नयाँ सरकार बनेपछि यो सरकारले सुरक्षाकर्मी, व्यापारी लगायत आमनेपालीको मनोबल बढाउने होइन, अझ घटाउने कार्य गरिरहेको छ । उदाहरणका लागि, भोटेकोशी जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर जेन जीका नाममा निःशुल्क उपलब्ध गराउने कुरा देशका लागि अत्यन्त अराजक र उच्छृङ्खल रहेको उदाहरण प्रस्तुत गर्न चाहन्छु । यसले निजी क्षेत्रको लगानी गर्ने मनोबल गिर्ने मात्र नभई समग्र देश नै अराजकतातर्फ उन्मुख हुने कुरा अवश्यम्भावी छ । वर्तमान सरकारको संरक्षणमा यस्ता गतिविधि हुनुले म यो सरकारलाई खबरदारी गर्दै सरकारका यस्ता कार्यहरूको घोर भर्त्सना गर्दछु । साथै, नेपालले दीर्घकालीन शान्ति(सुरक्षा र सुशासनका लागि डिजिटल पहुँच, साइबर सुरक्षा र ई(गभर्नेन्समा समेत ध्यान दिनुपर्छ ।

९ .प्रतिक्रान्तिको खतरा :

विश्वका आन्दोलनहरूले प्राप्त गरेका उपलब्धिहरू जगेर्ना गर्न नसक्दा र गलत नेतृत्वका कारणले धेरै मुलुकमा गृहयुद्ध र तानाशाहहरूको जन्म भई मुलुक पश्चगमनमा फसेको छ । अतः जेन जीका जायज मागहरूलाई सरकारले नजरअन्दाज गरिरहेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसले वार्ता समिति बनाई जेन जीहरूसँग तुरुन्तै वार्ता प्रारम्भ गरोस् ।

१०. नेपाललाई धार्मिक स्वतन्त्रतायुक्त, बौद्ध, किराँतसहितको सनातन हिन्दू राज्य घोषणा :

पछिल्लो समय नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभूति गरिरहेका छौँ । धर्म परिवर्तनको दबाब र विवादका बीच सामाजिक तनाव बढेको देखिन्छ । यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ । धार्मिक सहिष्णुता, समानता र सद्भावलाई कायम राख्न तथा बहुमत जनताको भावनालाई सम्बोधन गर्न नेपाललाई धार्मिक स्वतन्त्रतायुक्त, बौद्ध, किराँतसहितको सनातन हिन्दू राज्यू घोषणा गरी सनातन हिन्दू राष्ट्र बनाऔँ ।

११. नेपाली कांग्रेसभित्र युवाहरूको सहभागिता :

युवा भनेको उमेर होइन, विचार र ऊर्जा हो । अतः पार्टीमा अब युवाहरूको समावेशीकरणमा मात्र ध्यान दिने होइन, व्यवहारमा सम्बोधन गरिनुपर्छ । प्रविधिमैत्री, विचारयुक्त, चरित्रवान् कार्यकर्ताको निर्माण आजको प्रमुख आवश्यकता हो । कांग्रेसले युवाहरूलाई क्रियाशील सदस्य बनाउने, बढाउनेदेखि कसरी पार्टी र देशप्रति जिम्मेवार बनाउनेसम्मका कार्यक्रम ल्याउन जरुरी छ ।

अन्त्यमा,आजको यस कठिन घडीमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तभित्र रही व्यक्तिगत स्वार्थ र राजनीतिक स्वार्थभन्दा माथि उठेर सुशासनयुक्त समुन्नत राष्ट्र निर्माणमा एकजुट बनौँ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्