काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ७९ लाख ४७ हजार कित्ता सेयर बिक्री भएपछि ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको कारोबारको तुलनामा आज कारोबार कम भएको देखिएको छ। बजार सुरुमा हल्का ओरालो लागेको भए पनि पछि सुधार भएपछि नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको छ।
आजको कारोबारमा साहस ऊर्जा लिमिटेड सबैभन्दा बढी रु. ३५ करोडको सेयर कारोबारमा समावेश भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रु. ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. २६ करोड, शिवम् सिमेन्टको रु. १६ करोड र सिनर्जी पावर डेभलपमेन्टको रु. ९ करोड रहेको छ।
मूल्य बढ्ने क्रममा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुंगल हाइड्रो सबैले सकारात्मक सर्किट मार्फत मूल्यमा उच्च उछाल देखाएका छन्। त्यस्तै दरामखोला हाइड्रोपावरको मूल्य ६.८८ प्रतिशत, इस्टर्न हाइड्रोपावर ६.२९ प्रतिशत र स्वस्तिक लघुवित्त ४ प्रतिशतले बढेका छन्।
त्यस्तै, मूल्यमा गिरावट आउने सेयरमध्ये नेपाल एसबीआई बैंक डिबेन्चर ९.३९ प्रतिशतले घटेको छ भने सिटी होटल ४.९६ प्रतिशतले ओर्लिएको छ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। वाणिज्य बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन/प्रशोधन, सामूहिक लगानी, निर्जीवन बीमा र व्यापार समूह आज हरियो रहे, भने अन्य, माइक्रोफाइनान्स, लगानी, होटल/पर्यटन, फाइनान्स र विकास बैंकको सूचक घटेको छ।
तीन दिन लगातार घटेको बजार आज सामान्य सुधारका संकेत देखाएको छ। कारोबार रकम घटे पनि परिसूचकमा थोरै वृद्धि आएपछि लगानीकर्ताबीच हल्का उत्साह देखिएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!