लिम्बु भाषालाई कामकाजको बनाउने निर्णय गफमै सीमित

लिम्बु भाषालाई कामकाजको बनाउने निर्णय गफमै सीमित

विराटनगर ।  किराँत धर्मका महागुरु फाल्गुनन्दको १४१औँ जयन्तीका अवसरमा आज (कार्तिक २५ गते) कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।

प्रदेश सरकारले सोमबार निर्णय गर्दै प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूमा एक दिने बिदा घोषणा गरेको हो।

कोशी प्रदेश सरकारले यो वर्षको फाल्गुनन्द जयन्तीको दिनदेखि मैथिली र लिम्बु भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने भन्दै गरेको निर्णय भने कागजमै सिमित भएको छ। प्रदेश मन्त्रिपरिषद्को गत साउन १८ गते बसेको बैठकले फाल्गुनन्द जयन्तीदेखि मैथिली र लिम्बु भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको थियो।

मैथिली र लिम्बुलाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको प्रदेश सरकारले प्रदेशसभामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पेश गरेको लिम्बु र मैथिली भाषालाई सरकारको कामकाजको भाषा बनाउने गैरसरकारी विधेयक अस्वीकृत गराएको थियो। त्यसपछि सरकारले अर्को विधेयक प्रदेशसभामा पेश गरेकोमा त्यो विधेयकलाई अगाडि बढाउने प्रयासै गरेन।

यसरी फाल्गुनन्द जयन्तीमा मैथिली र लिम्बुलाई प्रदेशको कामकाजको भाषा बनाउने सरकारको निर्णय कागजमै सीमित बन्न पुगेको हो। विधेयकलाई प्रदेश सभाको बजेट अधिवेशनबाटै पारित गरेर लागू गर्ने सरकारको दाबी उसैले कार्यान्वयन गर्न सकेन ।

महागुरु फाल्गुनन्द लिङ्देन (सन् १८८५–१९४९) किराँत समुदायका धार्मिक, सांस्कृतिक र सामाजिक सुधारकका रूपमा चिनिन्छन्। नेपालको पूर्वी पहाडी भूभाग विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र संखुवासभा क्षेत्रमा उहाँको व्यापक प्रभाव छ। उनले किराँत धर्म र संस्कृतिको पुनर्जागरणका साथै समाजमा व्याप्त छुवाछुत, मदिरा सेवन र अन्धविश्वासको विरोध गर्दै नैतिक जीवन र आत्मपरिष्कारको सन्देश फैलाएका थिए।

फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते आइतबार पाँचथरको इम्वुङ्गमा भएको थियो । फाल्गुनन्दले वि.सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’लाई एक महत्त्वपूर्ण सामाजिक सुधारको दस्तावेज मानिन्छ, जसमा छोरीको विवाहमा दाइजो लिन नहुने जस्ता प्रगतिशील विचारहरू समेटिएका थिए । उनको योगदानको कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फाल्गुनन्दले ‘सत्त धर्म’ र ‘थुई’ (सदाचार) लाई जीवनको मूल आधार मान्दै आफ्नो शिक्षणमार्फत किराँत समुदायलाई एकता, समानता र आत्मसम्मानतर्फ उन्मुख गराउनुभयो। उहाँले स्थापति गरेका ‘सत्त धर्म थुई सभाहरू’ पछि किराँत सांस्कृतिक पहिचान पुनःस्थापनाका केन्द्र बने।

प्रदेश सरकारले उनको योगदानको सम्मानस्वरूप हरेक वर्ष फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक विदा दिँदै आएको छ। यस वर्ष पनि विभिन्न जिल्लाहरूमा उनको मूर्तिमा माल्यार्पण, सांस्कृतिक प्रदर्शन र विशेष कार्यक्रमहरू आयोजना गरी महागुरुको स्मरण गरिएको छ।

किराँत समाजका अगुवाहरूले फाल्गुनन्दको विचार अहिलेको समाजमा पनि समान रूपले सान्दर्भिक रहेको भन्दै प्रदेश सरकारको विदा निर्णयलाई स्वागत गरेका छन्। उनीहरूको भनाइमा, “फाल्गुनन्दको सन्देश केवल किराँत धर्मका लागि होइन, सम्पूर्ण नेपाली समाजका लागि मानवता, सत्य र सहअस्तित्वको पाठ हो।”

यसरी फाल्गुनन्द जयन्तीले कोशी प्रदेशमा आज धार्मिक, सांस्कृतिक र सामाजिक एकताको उत्सवका रूपमा वातावरण बनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्