विराटनगर । महिला दृष्टिविहीन टी–२० विश्वकपको यो पहिलो संस्करण प्रतियोगिता मंगलबारदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
यो प्रतियोगिता पहिले भारत र नेपालमा आयोजना हुने तय भएको थियो । तर, जेनजी प्रदर्शनपछि विकसित घटनाक्रमका पछि असहज परिस्थितिका कारण नेपालमा खेलाइने खेल श्रीलंकामा सारिएको हो ।
प्रतियोगिता आज देखि मंसिर ७ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डको सहभागिता रहनेछ ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल श्रीलंसँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल भोलि कार्तिक २६ गते नयाँ दिल्लीमा खेलिने छ । त्यसअघि, आज आयोजक भारत र श्रीलंकाबीच नयाँ दिल्लीमै उद्घाटन खेल हुनेछ ।
नेपाली टोलीले आफ्नो दोस्रो खेल कार्तिक २८ गते आयोजक भारतसँग बेंगलुरुमा खेल्नेछ । नेपाली टोलीले कार्तिक २९ गते इङ्ल्याण्डसँग बेंगलुरुमै आफ्नो तेस्रो खेल खेल्नेछ । नेपालले आफ्नो चौथो खेल कार्तिक ३० गते अमेरिकासँग बेंगलुरुमा खेल्नेछ ।
चारवटा खेल भारतमा खेलेपछि नेपाली टोली बाँकी खेल खेल्न श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोलीले आफ्नो पाँचौं खेल मंसिर २ गते कोलम्बोमा अस्ट्रेलियासँग खेल्नेछ । आफ्नो छैटौं खेल नेपालले मंसिर ३ गते कोलम्बोमै पाकिस्तानसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दुबै सेमिफाइनल र फाइनल खेल पनि कोलम्बोमै खेलाइने छ ।
नेपाल दृष्टिविहीन क्रिकेट संघले उक्त विश्वकपका लागि राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ । टोलीमा गीता पौडेल ९कप्तान०, विनिता पुन, विनिता सोमाई, दिल्लीसरा धमला, मनकेशरी चौधरी, कान्ती डगौरा, देवकी थापामगर, अंगिला ढकाल, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसेरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्री र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला रहेका छन् । नेपाली टोलीको व्यवस्थापकमा भने भगवती भट्टराई बराल रहेकी छन् । उक्त विश्वकपका लागि नेपाली टोलीले काठमाडौं र पोखरामा प्रशिक्षण गरेको थियो ।
यो विश्वकपमा नेपाली अम्पायरले निर्णयको भूमिका पनि निर्वाह गर्ने अवसर पाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले यो ऐतिहासिक जिम्मेवारी पाएका हुन् । उनी भारत प्रस्थान गरिसकेका छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!