विराटनगर । होटलमा मुख्यमन्त्री नियुक्त गरेर सपथ गराएकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट प्रदेश प्रखुम सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गरेको हो ।
झापाको दमक घर भएकी सुमित्रा सुवेदी भण्डारी कुनै अब्बल क्षमता भएकी पात्र नभएपनि नेकपा एमालेकी बफादार कार्यकर्ता थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र रहेकी उनलाई ओलीले २०७८ सालमा डेनमार्कका लागि राजदूत सिफारिस गरेका थिए ।
कुनै कुटनीतिक ज्ञान र अनुभव नभएपनि भण्डारीलाई ओली राजदुत नियुक्त गरेर आफूप्रतिको बफादारितालाई पुरस्कृत गरेका थिए । तर, ओली सरकार ढलेपछि उनले राजदुत बन्न पाइनन् । राजदुत बन्न नपाएकी सुमित्रा माओवादी र एमाले सरकार रहेको बेला ओलीकै सिफारिसमा प्रदेश प्रमुख बन्न सफल भइन् ।
उनै सुमित्राले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सोमबार होटलमै मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएपछि पद गुमाएकी छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ ।
संविधानले तोकेको प्रक्रियालाई बेवास्ता गर्दै भण्डारीले बर्दिबासस्थित पानस होटलमा बसेर मुख्यमन्त्री नियुक्त गरेपछि राजनीतिक, कानुनी र सार्वजनिक रूपमा तीव्र आलोचना भएको थियो । संविधानको धारा १६८ को उपधारा २ अनुसार संयुक्त सरकार गठनको प्रयास गर्नुपर्नेमा उनले सो चरण लत्याएर उपधारा ३ मा गएर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री रहेका जितेन्द्र सोनालले विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि ७ राजनीतिक दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले उपधारा २ अनुसार सरकार गठनको तयारीमा थिए । तर, भण्डारीले त्यसको लागि आफूलाई केहि दिन परामर्शको समय चाहिने आइतबार बताएकी थिइन् ।
सोमबार विहान भने उनी आफू विरामी भएकोले उपचार गर्न काठमाडौं जाने भन्दै जनकपुरबाट हिँडिन् । कामचलाउ मुख्यमन्त्री सोनालले निवासमै पुगेर विदाइ गरेका थिए । तर, भण्डारीले बर्दिवास पुगेर एउटा होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलार्ई मुख्यमन्त्री नियुक्त गरेर त्यहि सपथ गराइन् ।
यो कदम सार्वजनिक भएपछि मधेश प्रदेशभर तनाव फैलियो । कांग्रेस, माओवादी, जनमत र नागरिक उन्मुक्ति लगायत दलका कार्यकर्ताले मुख्यमन्त्री कार्यालय घेराउ गरी प्रदर्शन गरे, तोडफोडको प्रयास भयो र प्रहरीसँग झडपसमेत भएको थियो । कानुन व्यवसायीहरूले भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सुमित्रा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छिन् । उनी ओलीकै सिफारिसमा २०८० फागुन २९ गते मधेश प्रदेश प्रमुख बनेकी थिइन् । झापा दमककी ६४ वर्षीया भण्डारी अखिल नेपाल महिला संघको तीन कार्यकालसम्म झापा जिल्ला अध्यक्ष भएकी थिइन् ।
भण्डारीको कदमप्रति एमालेभित्र नै असन्तुष्टि पैदा भएको छ । मधेश प्रदेशका एमाले प्रमुख सचेतक हरिनारायण महतोले उनले संवैधानिक पदको मर्यादा उल्लंघन गरेर पार्टीको बेइज्जत गरेको प्रतिक्रिया दिएका छन् ।
यो विवाद जेन–जी आन्दोलनपछिको अस्थिर राजनीतिक परिस्थितिबीच भएको हो। आन्दोलनको केही समयपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरेकोमा फिर्ता लिएका थिए । त्यसपछि उनकै दल पनि उनको विरुद्ध उभिएपछि उनले राजीनामा दिएपछि जितेन्द्र सोनाल मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानले प्रदेश प्रमुखलाई गरिमामय पदको रूपमा परिभाषित गरेको छ। तर, कार्यालयबाहिर गएर होटलमै मुख्यमन्त्री नियुक्त गरेर त्यहि सपथ गराई भण्डारीले पदको गरिमा र संवैधानिक मर्यादामाथि घात गरेकी छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्था नआएसम्म धारा १६८(३) मा प्रवेश गर्न नपाइने स्पष्ट व्यवस्था संविधानमा रहेकोमा त्यो अवस्था नहुँदै उनले मुख्यमन्त्री नियुक्त गरेर संविधान उल्लंघन गरेको देखिएको छ । गठबन्धनबाट संयुक्त सरकार गठन हुने सम्भावना हुँदाहुँदै त्यसलाई लत्याएर उनले प्रदेशसभाको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेसभाबाट मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले सभामा प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा बढी सदस्य भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उक्त धारामा छ । तर, प्रदेशसभामा मुख्यमन्त्री रहेका सोनालले विश्वासको मत लिने प्रक्रियामा नगई राजीनामा दिएका थिए ।
प्रदेश प्रमुखको यो कदम एमाले अध्यक्ष ओलीकै निर्देशनमा भएको बताइएको छ । उनको शैली पनि ओलीसँग मिलेको छ ।
ओलीकै सिफारिसमा प्रदेश प्रमुख बनेकी भण्डारीले उनकै शैलीमा संवैधानिक पदको मर्यादा तोडेर राजनीतिक हस्तक्षेप गरेकी हुनाले अन्ततः पद गुमाउन पुगेकी हुन् । ओलीको विश्वासपात्रका रूपमा चिनिएकी भण्डारीले संविधान र नैतिकताको सीमारेखा नाघ्दै अनैतिक काम गर्दा पद गुमेको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!