दानबहादुर कार्की नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त

दानबहादुर कार्की नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीले ३३ औं महानिरीक्षकको रुपमा दानबहादुर कार्कीलाई पाएको छ । सरकारले एआईजी कार्कीलाई सोमबार आइजीपी नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षकमा नियुक्त गरिएको हो । प्रहरी नियमावलीमा उल्लेखित ३० वर्षे सेवा अवधिका कारण वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो।

हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्कीले लामो प्रहरी सेवाको अनुभवका क्रममा फिल्डदेखि आईजीपी सचिवालयसम्म जिम्मेवारी सम्हालेका छन्। उनी कुनै ठूलो आर्थिक विवादमा नपरेका र इमान्दार प्रहरी अधिकृतका रूपमा परिचित छन्।

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्कीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख थिए। डीआईजी हुँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका उनले एसएसपी दर्जामा काठमाडौं प्रहरी परिसर प्रमुख रहँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो।

प्रहरी सेवाको क्रममा उनले लुम्बिनी प्रदेश, काठमाडौं उपत्यका, काठमाडौं, कास्की र कपिलवस्तुमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। डीएसपीका रूपमा उनले बुटवल र काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा काम गरेका थिए भने इन्स्पेक्टरका रूपमा झापाको काकडभित्ता र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

विदेशमा विभिन्न तालिम लिइसकेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको भूमिकामा समेत रहे। जेनजी आन्दोलनका कारण उनी महानिरीक्षक नबन्ने चर्चा भए पनि सरकारले उनको वरीयता र कार्यसम्पादनका आधारमा न्यायपूर्ण निर्णय गरेको हो।

गुल्मीमा २०२९ साउन १५ गते जन्मिएका कार्की २०५४ चैत १८ गते नेपाल प्रहरीमा इन्स्पेक्टरका रूपमा भर्ना भएका थिए। उनी हालसम्मको सेवायात्रामा पेशागत दक्षता, इमानदारी र अनुशासनका कारण चर्चित रहँदै आएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्