विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी अधिवेशन मोरङको कटहरीस्थित एकीकृत कृषि थोक बजारको भवनमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले हालैको प्रदर्शनमा प्रदेश सभा भवन ध्वस्त भएपछि वैकल्पिक स्थानको रूपमा उक्त भवनलाई प्रयोग गर्न स्वीकृति प्रदान गरेको हो ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उक्त जानकारी दिएका हुन् । उनका अनुसार, केही समयअघि भएको विध्वंसात्मक प्रदर्शनका कारण प्रदेश सभा भवन र सचिवालयमा पूर्ण रूपमा क्षति पुगेपछि बैठक सञ्चालनका लागि नयाँ स्थानको खोजी गरिएको हो ।
चाँडै नै प्रदेश सभाको अधिवेशन बोलाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको कटहरी गाउँपालिका वडा नं १ मा अवस्थित एकीकृत कृषि थोक बजारको भवन र संरचना प्रयोग गर्ने निर्णय गरेको भण्डारीले बताए ।
बैठकले उक्त भवनलाई प्रदेशसभा सञ्चालनका लागि तयार गर्न आवश्यक मर्मत सम्भार र निर्माणको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिने निर्णय समेत गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीको अध्यक्षतामा बसेको २०८२ सालको २० औं बैठकले विभिन्न मन्त्रालयहरूमा सचिवहरूको पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।
संघीय सरकारका सहसचिव उद्धवप्रसाद रिजाललाई सामाजिक विकास मन्त्रालयको रिक्त प्रदेश सचिवमा पदस्थापना गरिएको छ ।
बैठकले सहसचिव पुष्करप्रसाद पोख्रेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको प्रदेश सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ भने सहसचिव कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश सचिवमा पदस्थापना गरिएको छ । उनलाई प्रदेश योजना आयोगको सचिवको समेत कामकाज गर्ने जिम्मेवारी तोकिएको छ ।
यसका साथै, बैठकले आगामी ९ डिसेम्बर, २०२५ मा भारतको पश्चिम बंगालमा हुने डब्लु.सी.सी.डी.बी. इन्डिया एन्ड नेपाल मिटिङ मा सहभागी हुन प्रदेश सचिव डा. इन्द्रप्रसाद सापकोटालाई मनोनयन गरेको छ । कार्यक्रमको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने भएकाले प्रदेश सरकारलाई कुनै आर्थिक भार नपर्ने बताइएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!