काठमाडौँ । नेकपा (एमाले) को कारबाहीपछि ‘मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गरिरहेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । लामो समयको राजनीतिक संवाद र छलफलपछि रावलले नयाँ राजनीतिक यात्रा तय गर्न लागेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीले जनाए अनुसार, यही कात्तिक २६ गते दिउँसो १ः३० बजे काठमाडौँको राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रम आयोजना गरी पार्टी समायोजनको घोषणा गरिनेछ । उक्त कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुको उपस्थिति रहनेछ ।
रावललाई पार्टीमा भित्र्याउने विषयमा आइतबार शीर्ष नेताहरुबीच भेटवार्ता भएको थियो । स्रोतका अनुसार, पार्टीमा रावलको वरीयताक्रम पनि टुंगो लागिसकेको छ । उनले पार्टीमा छैटौँ वरीयता पाउने सहमति भएको छ । पार्टीको वरीयताक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि रावल रहनेछन् ।
नेकपा (एमाले) ले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेपछि रावलले ‘मातृभूमि जागरण अभियान’ मार्फत छुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए ।नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले अब रावल नेतृत्वको अभियानलाई पनि आफूमा समाहित गर्न लागेको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!