उपचारको बहानामा काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बाटैमा गरिन् मुख्यमन्त्री नियुक्त

उपचारको बहानामा काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बाटैमा गरिन् मुख्यमन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेशमा नाटकीय राजनीतिक घटनाक्रम विकसित भएको छ । स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बाटोबाटै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।
आज बिहान करिब चार बजे प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको कारण देखाउँदै जनकपुरधामस्थित सरकारी निवासबाट काठमाडौंका लागि प्रस्थान गरेकी थिइन् । उनलाई कामचलाउ सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले नै बिदाइ गरेका थिए । सो अवसरमा पत्रकारहरूसँग कुरा गर्दै सोनलले भनेका थिए,‘मानव–मानव त हौं नि हामी। उहाँ प्रदेशको अभिभावक हुनुहुन्छ। उहाँलाई स्वास्थ्य लाभको कामना गरेर बिदा गरेँ।’


तर, काठमाडौंको यात्रामा निस्केको केही घण्टामै प्रदेश प्रमुख भण्डारीले सिन्धुली–महोत्तरी सीमा क्षेत्रमा रहेको एक होटलबाट नयाँ मुख्यमन्त्री नियुक्त गरेको खबर सार्वजनिक भयो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख छ ।कतिपय समाचार स्रोतहरूले यादवलाई सिन्धुलीकै एक होटलमा सपथ समेत गराइएको दाबी गरेका छन् ।
यसअघि, मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि शनिबार आफ्नो पदबाट राजीनामा दिएका थिए । सोनलको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै धारा १६८(३) प्रयोग गरेको भन्दै आलोचना सुरु भएको छ । कांग्रेससहितका सात दलले धारा १६८(२) अनुसार नै सरकार गठन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।

यो अप्रत्याशित घटनाक्रमप्रति पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मधेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा प्रदेश प्रमुखले मधेशको अस्मितामाथि प्रहार गरिन्।’बिहानै स्वास्थ्य लाभको कामनासहित बिदाइ गरिएका प्रदेश प्रमुखबाट बीच बाटोमै नयाँ सरकार गठनको निर्णय आउनुलाई राजनीतिक वृत्तमा‘छापामार शैली’ को संज्ञा दिइएको छ । यद्यपि, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र नेकपा एमालेबाट यसबारे कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्