जनता माविमा कराते प्रशिक्षण सुरु, विद्यालयबाटै खेलकुद विकासमा जोड

जनता माविमा कराते प्रशिक्षण सुरु, विद्यालयबाटै खेलकुद विकासमा जोड

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ९ मा अवस्थित जनता माध्यमिक विद्यालयमा नियमित सितोरियो कराते प्रशिक्षण सुरु भएको छ । विद्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र तामाङले प्रशिक्षणको औपचारिक उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले खेलकुदको जग विद्यालय तहबाटै बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘समग्र खेलकुद क्षेत्रको दिगो विकासका लागि तल्लो तहबाटै खेलाडी उत्पादनमा ध्यान दिनु आवश्यक छ । विद्यालयहरू खेलकुदका नर्सरी हुन् र यहाँबाटै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार हुन्छन् ।’ अध्यक्ष तामाङले जिल्लाको खेलकुदलाई अघि बढाउन समितिले विद्यालयस्तरीय खेलकुद कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विद्यालयका ५२ जना विद्यार्थी नियमित रूपमा सहभागी हुने उक्त प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, आत्मरक्षा र खेल भावनाको विकास गर्ने विश्वास लिइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक चन्द्र काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने खेलकुद शिक्षक प्रल्हाद काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयस्तरमा सुरु भएको यस किसिमको प्रशिक्षणले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढ्ने र नयाँ प्रतिभाको खोजीमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्