मोरङका चार लाख बढी पशुमा खोरेतविरुद्ध खोप लगाइँदै

मोरङका चार लाख बढी पशुमा खोरेतविरुद्ध खोप लगाइँदै

विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने बृहत् लक्ष्यअन्तर्गत मोरङ जिल्लामा गाई, भैंसी र बंगुरलाई गरी यस पटक ४ लाख ३६ हजार डोज खोप लगाइने भएको छ । जसअनुसार जिल्लाभरका गाई र भैंसीलाई ३ लाख ८० हजार डोज तथा बंगुरलाई ५६ हजार डोज खोप दिइनेछ ।

कोशी प्रदेश सरकारले खोरेतविरुद्ध इलाम र पाँचथरलाई खोरेतमुक्त बनाउन केही जिल्लालाई पाइलटिङको रुपमा केही वर्षअघिबाट काम गरिरहेको छ । दूधजन्य पदार्थ विदेश निर्यात गर्न खोरेतमुक्त रहेको प्रमाणपत्र अनिवार्य भएकोले पनि प्रदेश सरकारले त्यसका लागि काम थालेको थियो । त्यसै क्रममा कोशी प्रदेशमा केही वर्षयता खोरेतको संक्रमण नदेखिएका जिल्लाहरुलाई प्राथमिकतामा राख्दै खोप अभियान सञ्चालन गर्ने गरिएको थियो ।

खोरेतको संक्रमण देखिएको झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा पनि खोरेतमुक्त बनाउन अभियानकै रुपमा खोप लगाउँदा केही वर्षदेखि संक्रमण फेला नपरेका तर, अधिक दूध उत्पादन हुने जिल्लाहरुलाई ठूलो सहयोग पुग्ने भएको छ ।

विराटनगर महानगरपालिकामा पनि १६ हजार भन्दा बढी पशुचौपायालाई खोप लाइने छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मोरङका प्रमुख डा. अजयकुमार साहले महानगरपालिकाभित्र मात्रै २१ हजार ६ सय गाई र भैंसी रहेको बताए । जसमध्ये पहिलो चरणमा १६ हजार ६ सय गाई र भैंसीलाई खोरेतविरुद्धको निःशुल्क खोप लगाइनेछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भ्याक्सिनेटरहरूको प्रयोग गरिने र सबै तथ्यांक डिजिटल प्रणालीमा सुरक्षित राखिने व्यवस्था मिलाइएको डा. साहले जानकारी दिए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार इलाम जिल्लालाई पहिल्यै खोरेतमुक्त घोषणा गरिसकिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेतमुक्त बनाउन आवश्यक तयारीसहित काम सुरु गरिएको हो ।

“कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,” डा. अधिकारीले भने, “यस अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउनेछ ।”

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्