मोरङको रंगेलीमा लोपोन्मुख हाइनाको बथान देखा परेपछि स्थानीय त्रसित

मोरङको रंगेलीमा लोपोन्मुख हाइनाको बथान देखा परेपछि स्थानीय त्रसित

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपालमा लोपोन्मुख मानिएको हाइना (हुँडार) को बथान देखिएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । भारतसँग सीमा जोडिएको वडा नम्बर ४ को धनपति क्षेत्रमा विगत एक सातादेखि हाइनाको चहलपहल देखिएको हो ।

सुरुमा फाट्टफुट्ट एउटा –दुईटा मात्र देखिए पनि शनिबार राति हाइनाको बथान नै देखिएको स्थानीयले बताएका छन् । रंगेली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलका अनुसार भारततर्फ हाइना देखिएको हल्ला सुनिए पनि नेपालतर्फ यसअघि देखिएको थिएन । अहिले बाँसघारी र खेतमा बथान नै देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

झट्ट हेर्दा कुकुरजस्तो देखिने, अगाडिको खुट्टा लामो र पछाडिको छोटो हुने यो जनावर मांसाहारी र चलाख मानिन्छ । यिनीहरु समूहमा शिकार गर्ने गर्दछन् ।

वन्यजन्तु विज्ञहरूका अनुसार नेपालको पूर्वी क्षेत्रमा हाइना देखिनु एक दुर्लभ घटना हो । कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवले मोरङमा हाइना कसरी आइपुग्यो भन्ने विषयमा अध्ययन गर्न बाँकी रहेको बताए । उनले भने ‘यो क्षेत्रमा हाइना देखिएको थिएन । कहाँबाट आयो भन्ने चाहिँ खोजीको विषय हो ।’
सन् २०११ मा गरिएको एक अध्ययनले नेपालका २५ जिल्लामा हाइना पाइने देखाएको थियो । तर, त्यसयता कुनै ठोस अध्ययन हुन सकेको छैन । सोही अध्ययनअनुसार नेपालमा हाइनाको संख्या करिब एक सयको हाराहारीमा रहेको अनुमान छ । अनुसन्धानहरूले हाल हाइनाको वितरण पश्चिम र मध्य नेपालको तराई क्षेत्रमा सीमित हुँदै गएको देखाएको छ । सन् २००५ पछि पूर्वी क्षेत्रमा यसको उपस्थिति प्रमाणित हुन सकेको थिएन, जसले गर्दा रंगेलीको यो घटनालाई विज्ञहरूले चासोका साथ हेरेका छन् ।

नेपाल सरकारले हाइनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यसलाई मार्न वा कुनै पनि प्रकारले हानी पुर्‍याउनु गैरकानुनी मानिन्छ ।स्थानीय प्रशासन र डिभिजन वन कार्यालय, मोरङले यस घटनाबारे थप अनुसन्धान गरिरहेको र स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । वासस्थानको विनाश, आहाराको कमी र मानवसँगको द्वन्द्वका कारण यो जनावर संकटमा पर्दै गएको विज्ञहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्