धरान । सुनसरीको धरानमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि सञ्चालकसहित ९ जना पक्राउ परेका छन् ।
धरान–११ मंगलबारेस्थित सो पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छयायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार घटनास्थलमा रहेको सीसी क्यामेरा फुटेजमा राईलाई पाता कसेर कम्ब्याट र डसनाले बाँधिएको र हातखुट्टा समेत चल्न नसक्ने गरी लडाइएको दृश्य देखिएपछि सो घटनामा संलग्न ९ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पुनर्स्थापना केन्द्रका सञ्चालक धरान–८ का ३५ वर्षीय मणिराज राई, धरानकै २५ वर्षीय राकेश प्रधान, २० वर्षीय श्रवण राजधानी, ४० वर्षीय निकेश सुनुवार, ४१ वर्षीय सुरेन लिम्बु, ३८ वर्षीय हस्तबहादुर विश्वकर्मा, ३७ वर्षीय बिरु लिम्बु, ३५ वर्षीय सचिन राई र मोरङ सुन्दरहरैंचाका २७ वर्षीय विजय चौधरी छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!