विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया चलिरहेका बेला नाटकीय रूपमा आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजनका लागि घण्टी बजाएर प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए । दलका नेताहरूले प्रस्तावमाथि आफ्नो धारणा राखेपछि सभामुख रामचन्द्र मण्डलले मतविभाजनको प्रक्रिया सुरु गरेका थिए । तर, प्रक्रिया सुरु हुनासाथ मुख्यमन्त्री सोनलले आकस्मिक रूपमा बोल्न समय मागे र सभामुखको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे । सभामुखले भने उनलाई रोष्टममा आउन समेत दिएनन् ।
हिन्दी भाषामा सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले भने, ‘सभामुख महोदय, तपाईंले जसरी सदन सञ्चालन गर्नुभयो, मन्त्रिपरिषद्को कुनै सदस्य उपस्थित नहुँदै र हामी छलफलमै रहेका बेला तपाईंले सदनलाई अगाडि बढाउनुभयो ।’ उनले सभामुखले एकलौटी र हतारमा सदन चलाएको आरोप लगाए ।
उनले थपे, ‘जुन मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हो, जो मतको प्रस्तावक हो, उही छलफलमा रहेका बेला र सदनको वातावरण नै नबनेको अवस्थामा तपाईंले सदनलाई मतविभाजनतर्फ लैजानुभयो । यो सदनमा विगतमा सामान्य विषयमा पनि चार–पाँच घण्टा, आठ–आठ घण्टासम्म बैठक स्थगित गरेर सहमति खोज्ने अभ्यास थियो, तर आज त्यसो गरिएन ।’
आफ्नो सरकार विश्वासको मत लिन तयार रहे पनि सभामुखले सिर्जना गरेको परिस्थितिका कारण आफू प्रक्रियामा सहभागी हुन नसक्ने उनले बताए । आफ्नो मन्तव्यको अन्त्यमा उनले भने, ‘म, मुख्यमन्त्री जितेन्द्र सोनल, जो विश्वासको मतका लागि आज सदनमा अनुरोध गरेको थिएँ, यहाँ सदनको जुन परिस्थिति देखेँ, त्यो परिस्थितिको हिसाबले म आफ्नो मुख्यमन्त्री पदबाट राजीनामा दिन्छु, इस्तिफा दिन्छु । धन्यवाद ।’
यो घोषणासँगै उनले आफ्नो राजीनामा प्रदेशप्रमुखलाई आजै बुझाउने बताए । गत असोज २८ गते नियुक्त भएका मुख्यमन्त्रीको अप्रत्याशित राजीनामापछि मधेश प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ र अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!