खोटाङमा वर्षाले ७० प्रतिशत धानबाली नष्ट

खोटाङमा वर्षाले ७० प्रतिशत धानबाली नष्ट

खोटाङ । कात्तिक १५ गतेदेखि लगातार चार दिनसम्म परेको अविरल वर्षाले खोटाङ जिल्लाको ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ ।

वर्षाको कारण जिल्लाभरका किसानको वर्षभरको मेहनत पानीमा बगेको छ। कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा गरी ९ हजार ९८८ दशमलव ०३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ६ हजार ९९१ दशमलव ६ हेक्टर खेतमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

केन्द्रका प्रमुख विशाल मोदीका अनुसार वर्षाको समयमा करिब १५ प्रतिशत धान काटेर थन्क्याउने तयारीमा, ४५ प्रतिशत पाकेर पहेंलो भएको र १० प्रतिशत अझै हरियो अवस्थामा रहेको धानबालीमा क्षति पुगेको छ । जिल्लाको प्रमुख नगर दिक्तेल रूपाकोट मझुवागढीमा मात्रै करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । १५ वडा रहेको यो नगरपालिकामा करिब ३ हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको र वार्षिक उत्पादन ८ हजार ९९५ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा पनि ठूलो क्षति पुगेको नगर प्रवक्ता कमल गिरीले बताए । त्यहाँ करिब १२० हेक्टरमा धानखेती हुने गरेकोमा ३०८ दशमलव ४ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । जन्तेढुङ्गा गाउँपालिकामा करिब ४० प्रतिशत धानखेती नष्ट भएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिएका छन् । सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती हुने र करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

यसैगरि, बराहापोखरी गाउँपालिकामा पनि ६० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । पालिकामा ६५७ हेक्टरमा धानखेती हुने गरेकोमा वार्षिक १ हजार ६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गरेको छ।

जिल्लाकै खोटेहाङ गाउँपालिकामा करिब ४० प्रतिशत धान नष्ट भएको प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए । ९ वडा रहेको यो पालिकामा १ हजार २०० हेक्टरमा धानखेती हुने गरेकोमा करिब ३ हजार ८४ मेट्रिक टन उत्पादन हुने गरेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ठूलो क्षति भएको छ । त्यहाँ १ हजार २०० हेक्टरमा धानखेती हुने गरेकोमा ३ हजार ८४ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै, साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि व्यापक क्षति पुगेको छ।

साकेलामा ८०० हेक्टरमा करिब २ हजार ५६ मेट्रिक टन, रावाबेँसीमा ८५० हेक्टरमा २ हजार १८४ दशमलव ५ मेट्रिक टन, केपिलासगढीमा ७५० हेक्टरमा १ हजार ९२७ दशमलव ५ मेट्रिक टन र ऐसेलुखर्कमा १ हजार हेक्टरमा २ हजार ५७० मेट्रिक टन धान उत्पादन हुँदै आएको छ। अविरल वर्षा रोकिएपछि किसानहरू क्षतिग्रस्त हुनबाट जोगिएको धान थन्क्याउने हतारमा छन् ।

धान पाक्ने समयमै परेको वर्षाले काटेर पाँजो लगाइएको धान समेत कुहिन थालेको किसानहरूको गुनासो छ। दिक्तेल मझुवागढी–११ खार्मीका युवा किसान हेमन्त राईले वर्षाले काटेको धान पनि कुहिन थालेको र कोदो, फापरजस्ता बाली र फलफूल सबैमा क्षति भएको बताए ।

कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरी वार्षिक २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ। यो वर्ष समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएकोमा वेमौसमी वर्षाले निउल्टै ठूलो क्षति पुर्‍याएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्