धरान । सुनसरीको धरान–२० स्थित श्रम संस्कृति पार्क हाताभित्र भूपू लाहुरेहरूको एकता र पुर्खाको इतिहास झल्काउने गोर्खा चौतारीको उद्घाटन गरिएको छ ।
गोर्खा चौतारी निर्माणको लागि ३ करोड ३ लाख १५ हजार ९३८ रुपैयाँ संकलन भएको र २ करोड ९१ लाख ५८ हजार १४ रुपैयाँ खर्च भएको छ ।
निर्माण सह–संयोजक तथा कोषाध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार लाहुरेहरुको सहयोगमा चौतारी निर्माण भएको हो । निर्माणपछि बचत भएको रकम ११ लाख ५७ हजार ९२४ रुपैयाँ समितिको खातामा रहेको उनले बताए ।
मुख्य चौतारी निर्माणका लागि ६६० जना ब्रिटिश भूपू दाताबाट १ करोड ३३ लाख ४६ हजार ९०९ रुपैयाँ, २९८ जना भारतीय भूपू सैनिकबाट ४१ लाख ८३ हजार २०६ रुपैयाँ र ३२१ जना सिङ्गापुर भूपू दाताबाट ४६ लाख ५० हजार ८५५ रुपैयाँ संकलन भएको थियो । यस्तै, महिला सम्मान चौतारीका लागि २५ लाख १२ हजार ७१८ रुपैयाँ र नम्बरी हट बनाउन ब्रिटिश आर्मी इन्टेक १८० समूहबाट १६ लाख २७ हजार ७१८ रुपैयाँ संकलन गरिएको थियो ।
गोर्खा चौतारीभित्र स्मारकसहितको मुख्य चौतारी, महिला सम्मान चौतारी, नम्बरी हट, लाबुङ भ्यु पोइन्ट, केदेम चौतारी, ओपी पोस्ट, सिताङ ब्रिज, गोर्खा पथ, गार्डेन, रेलिङ र मेटल तथा कंक्रिटका बेञ्चहरू निर्माण गरिएको छ। चौतारी ब्रिटिश सेना, भारतीय सेना र सिङ्गापुर पुलिस फोर्सबाट अवकाश प्राप्त भूपू सैनिक तथा परिवारको सहयोगमा बनेको हो ।
चौतारी संरक्षणका लागि गोर्खा चौतारी संरक्षण समिति गठन गरिएको छ । समितिको संयोजक पुर्णप्रसाद लिम्बु, उपाध्यक्ष हर्कराज राई र भैरवकुमार राई, सदस्य सचिव कर्णबहादुर गुरुङ, सहसचिव दिपेन्द्रकुमार राई, कोषाध्यक्ष पुनेन्द्रप्रसाद लिम्बु, सह–कोषाध्यक्ष मानसिंह तामाङ रहेका छन्। उद्घाटनपछि गोर्खा चौतारी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सम्झौताअनुसार हरेक वर्ष कार्तिक २१ गते स्थापना दिवस र महिनाको अन्तिम शनिबार श्रम दिवस मनाइनेछ । चौतारीको हेरचाह संरक्षण समितिले गर्ने र मर्मत तथा रंगरोगनको जिम्मेवारी उपमहानगरपालिकाले लिने व्यवस्था छ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाले संयुक्त रूपमा रिबन काटेर शुक्रबार चौतारीको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मेयर साम्पाङले धरानको विकासमा भूपू लाहुरे र उनीहरूको परिवारको ठूलो योगदान रहेको बताए । उनले धरानलाई मृत सहर नभई लिडिङ सिटी भएको उल्लेख गर्दै अब भूपू समुदायबाट नै आगामी नगर प्रमुख बन्नुपर्ने धारणा राखे ।
उपप्रमुख बेघाले गोर्खा चौतारीलाई सामान्य पार्क नभई गोर्खा सैनिकको इतिहास र पहिचान झल्काउने विशेष संरचना भएको बताए । उनले ब्रिटिश, भारतीय र सिङ्गापुरमा सेवामा रहेका भूपू सैनिकहरूले पहिलो पटक एकै ठाउँमा जुटेर ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!