काठमाडौँ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १० बाम दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न १० वाम घटक मिलेर कात्तिक १९ गते बुधबार नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टीको घोषणा गरिएको थियो।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, नयाँ पार्टीको घोषणालगत्तै संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरूको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको हो। दर्ता प्रक्रियामा सहभागी १० मध्ये ६ दल यसअघि नै निर्वाचन आयोगमा दर्ता भएका थिए । ती सबै दलका प्रमुखहरूको हस्ताक्षरसहित संयुक्त रूपमा नयाँ पार्टी दर्ताको निवेदन दिएको आचार्यले जानकारी दिएका छन्।
नवगठित नेकपाको चुनाव चिह्न पाँचकुने तारा प्रस्ताव गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।
यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी अघि बढाएको छ। आयोगका अनुसार, निर्वाचनमा भाग लिन चाहने सबै दलले ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!