केराबारीमा आँखा उपचार र भिडियो एक्सरे सेवा सुरु, स्थानीय हर्षित

केराबारीमा आँखा उपचार र भिडियो एक्सरे सेवा सुरु, स्थानीय हर्षित

विराटनगर । मोरङको केराबारी गाउँपालिकाले नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा एकैसाथ दुई महत्त्वपूर्ण सेवाहरूको सुरुवात गरेको छ । पालिकास्थित नगर अस्पतालमा आज, बुधबारदेखि विशेषज्ञसहितको आँखा उपचार सेवा शुभारम्भ गरिएको छ भने आगामी मंसिर २ गतेदेखि भिडियो एक्सरे (अल्ट्रासाउन्ड’सेवा पनि सञ्चालनमा ल्याइने भएको छ ।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङका अनुसार, विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । अब दुई जना नियमित डाक्टरले पालिका अस्पतालबाटै सेवा प्रदान गर्नेछन् । यो सेवासँगै आँखाको सामान्य शल्यक्रिया (माइनर अपरेसन) समेत स्थानीय स्तरमै सम्भव हुनेछ भने जटिल शल्यक्रियाका लागि विराटनगर रेफर गरिने व्यवस्था मिलाइएको छ । केराबारीमा पहाडी भुगोल धेरै रहेको छ ।

अध्यक्ष मिरिङचिङले भने ‘अब आँखाको सामान्य उपचारका लागि पनि टाढाका अस्पताल धाउनुपर्ने नागरिकको बाध्यता हटेको छ ।’

यसैगरी, पालिकाले मंसिर २ गतेदेखि अस्पतालमा भिडियो एक्सरे सेवा पनि थप गर्दैछ । यो सेवा सुरु भएपछि विशेषगरी गर्भवती महिला तथा पेटसम्बन्धी समस्या भएका बिरामीहरूलाई जाँचका लागि अन्यत्र जानुपर्ने

अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । गाउँमै आधारभूतदेखि विशेषज्ञ तहसम्मका स्वास्थ्य सेवाहरू उपलब्ध हुँदै गएपछि स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् ।