नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित, अबको बाटो कस्तो ?

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित, अबको बाटो कस्तो ?

काठमाडौं । लामो समयको प्रयासपछि अन्ततः विभिन्न कम्युनिस्ट घटकहरू मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’को एकता राष्ट्रिय सम्मेलनले नौ बुँदे प्रस्ताव पारित गरेको छ।

बुधबार काठमाडौंमा आयोजित एक भव्य समारोहका बीच नेता वर्षमान पुन ‘अनन्त’ले प्रस्तुत गरेका प्रस्तावहरूलाई ताली बजाएर अनुमोदन गरिएको हो। यो एकतालाई नेपालको वामपन्थी आन्दोलनमा एक महत्वपूर्ण परिघटनाको रूपमा हेरिएको छ ।

के छन् ९ बुँदे प्रस्तावमा ?
सम्मेलनले पारित गरेका ९ बुँदे प्रस्तावले नवगठित पार्टीको संरचना र भविष्यको दिशानिर्देश गरेको छ। मुख्य बुँदाहरूमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ। एकतामा सहभागी सबै पार्टीका सदस्यहरू स्वतः नयाँ पार्टीको सदस्य हुनेछन् भने पुराना पार्टीका केन्द्रीय समितिहरूलाई समायोजन गरी एउटै केन्द्रीय समिति बनाइनेछ।

त्यसैगरी, पार्टीका केन्द्रीय संरचनालाई पूर्णता दिने र सांगठनिक समायोजन गर्ने सम्पूर्ण अधिकार पार्टीका संयोजक र सहसंयोजकलाई दिइएको छ। विगतका निर्वाचनमा विभिन्न घटकहरूबाट निर्वाचित भएका जनप्रतिनिधिहरू अब ‘नेपाली कम्युनिस्ट पार्टी’का जनप्रतिनिधि हुनेछन्। साथै, सबै घटकहरूको चल–अचल सम्पत्ति र बैंक मौज्दात अब नयाँ पार्टीको स्वामित्वमा रहनेछ। पार्टीको घोषणापत्र र विधान पनि सम्मेलनले पारित गरेको छ।

यो एकताले नेपालको राजनीतिमा वामपन्थी शक्तिलाई पुनः एकपटक बलियो बनाउने अपेक्षा गरिएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा कम्युनिस्ट घटकहरू एक ठाउँमा आउनुले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।