काठमाडौँ । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत नौ वटा वामपन्थी दलहरूबीच आज पार्टी एकताको घोषणा हुँदैछ।
काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे एक सभा आयोजना गरी एकताको औपचारिक घोषणा गरिने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिएका छन्।
एकतापछि बन्ने नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न पाँच कुने तारा हुने सहमति जुटेको छ। यो एकता प्रस्तावलाई नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले मंगलबार नै पारित गरिसकेको छ।
यद्यपि, यो एकता प्रक्रियामा सबै नेताहरू भने सहमत छैनन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माको समूहले एकताको विरोध गर्दै छुट्टै अभियानको घोषणा गरेको छ। उनीहरूले पार्टी एकताको प्रयासलाई महाधिवेशन छल्ने रणनीतिको रूपमा हेरेका छन्।ृ त्यसैगरी, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायतका नेताहरू पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन्।
अर्कोतर्फ, नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल लगायत दुवै पार्टीका असन्तुष्ट नेताहरूलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको बताएका छन्।ृ उनले यो एकतालाई समाजवादी क्रान्तिको सुरुवातको लागि एक ऐतिहासिक पहल भएको बताएका छन्। प्रचण्डले एकतामा सहभागी नहुनेहरूलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र पार्टीमा फर्कन आग्रह गरेका छन्।
एकतामा सामेल हुने अन्य दलहरूमा महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी पार्टी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपाल रहेका छन्।

