कोशीमा एकीकृत समाजवादी : को एकताको पक्षमा, को विपक्षमा ?

कोशीमा एकीकृत समाजवादी : को एकताको पक्षमा, को विपक्षमा ?

विराटनगर । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) सहितका दलहरुबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेसँगै कोशी प्रदेशका नेताहरु स्पष्ट रुपमा विभाजित देखिएका छन् । यही कात्तिक १९ गते पार्टी एकता घोषणा गर्ने तयारी भइरहँदा केन्द्रीय तहमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायतले जनाएको असन्तुष्टिको असर प्रदेश तहमा पनि प्रष्ट देखिएको हो ।

एकीकृत समाजवादीकी कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काका अनुसार, प्रदेश कमिटीसहित अधिकांश जिल्ला कमिटीहरु एकताको पक्षमा छन् । तर, केही प्रभावशाली नेताहरुले भने एकता प्रक्रियामा सहभागी नहुने अडानमा छन् ।

को–को छन् एकताको विपक्षमा ?

पार्टी पुनर्गठनको माग गरिरहेका बेला अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता प्रक्रिया अघि बढाएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन् । एकता प्रक्रियामा सहभागी नहुनेमा पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, पोलिटब्युरो सदस्यहरु महेश रेग्मी र धर्म निरौला लागयतका नेताहरु छन् ।

त्यस्तै, केन्द्रीय कमिटी सदस्यहरु भवानी खापुङ, भीम बस्नेत (मोरङ) र चिरञ्जीवी भट्टराई (सुनसरी) पनि एकताको विपक्षमा उभिएका छन्।

एकताको पक्षमा को–को ?

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकट मानिने अधिकांश नेताहरु एकताको पक्षमा देखिएका छन् । उपमहासचिव राजेन्द्र राई, उपाध्यक्ष जयन्ती राई र सचिव बलदेव चौधरी एकताको पक्षमा छन् । यद्यपि, सचिव चौधरी हाल अमेरिकामा रहेकाले उनको अन्तिम निर्णय आइसकेको छैन ।

एकताको पक्षमा उभिने केन्द्रीय सदस्यहरुको सूची लामो छ । जसमा विद्या चाम्लिङ, केशव विष्ट, जीवन राई, राजन राई, मफुज अन्सारी, केशव तिम्सिना, लक्ष्मी नारायण श्रेष्ठ, सेमन्तराज भण्डारी, उपेन्द्र घिमिरे, इन्द्र सुब्बा, अमृत सुब्बा, चन्द्रकला सुब्बा, गीता थापा, ओसिम आलम, कृष्णकुमारी विक, मिरा दाहाल, पुष्पा पोखरेल, सविता भण्डारी, बासु दुलाल, चन्द्र श्रेष्ठ, खिनु लङ्वा, प्रमिला बस्नेत, अञ्जु काम्बाङ, प्रेम रिजाल, खेम ओनेम, नीता सिवा, उमेशकुमार डाँगी, हेमराज घिमिरे, पदमकुमारी गुरुङ, सुमना श्रेष्ठ, ऋषिकेश चापागाईँ, धर्मराज पौडेल, मिरजंग राई, इन्द्रावती राई, विरबल काजी राई, भिम राई, रमिला गुरुङ, अम्बिका राई, नेत्र भट्टराई, निर्मला श्रेष्ठ, डिल्ली राई, दुर्गा परियार, केदार राई मिरा दाहाल लगायतका नेता रहेका छन् ।

जिल्लाहरुको अवस्था

प्रदेशका अधिकांश जिल्ला अध्यक्षहरु एकताको पक्षमा उभिएका छन् । ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, भोजपुर, सुनसरी र मोरङका जिल्ला अध्यक्षहरु एकताको पक्षमा छन् । झापाका अध्यक्ष पनि एकताप्रति सकारात्मक छन् भने धनकुटाका अध्यक्ष अर्जुन राई दोहोरो संवादमा छन् । तेह्रथुमका अध्यक्ष योगेन्द्र गड्तौलाले भने एकतामा नजाने स्पष्ट पारिसकेका छन् । यदपी ताप्लेजुङ बाहेकका जिल्लाले भने कुनै निर्णय गरेका छैन्न ।