विराटनगर । यातायात व्यवस्था कार्यालय, विराटनगरले सवारी चालक अनुमतिपत्र सम्बन्धी केही सेवाहरू पुनः सञ्चालनमा ल्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै २०८२ साल असोज १९ गतेदेखि सवारी चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपि र भेरिफिकेसन सेवा मात्र सुरु गरिएको जानकारी दिएको छ ।
गत भाद्र २३ र २४ गते भएको ‘जेन जी’प्रदर्शनको क्रममा यातायात व्यवस्था विभाग अन्तर्गतको केन्द्रीय सर्भरमा क्षति पुगेपछि सेवाहरू अवरुद्ध भएका थिए ।क्षति भएको सर्भर मर्मतपछि हाललाई आंशिक सेवा मात्र सुचारु गरिएको हो ।
कार्यालयका अनुसार अन्य सेवाहरू जस्तै नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन लगायतका काम भने यातायात व्यवस्था विभागको वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र सुरु हुनेछन् । सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आउने बित्तिकै सर्वसाधारणलाई जानकारी गराइने सूचनामा उल्लेख छ ।
सेवा अवरुद्ध हुँदा हप्तौँदेखि मर्कामा परेका सेवाग्राहीले आंशिक सेवा सञ्चालन भएपछि केही राहत महसुस गरेका छन् । यद्यपि, नयाँ आवेदन खुला नहुँदा हजारौँ सेवाग्राही अझै पनि पर्खाइमा छन् ।
