इलाम । गत १८ र १९ असोजमा आएको भारी वर्षापछिको बाढी पहिराले इलाममा करिब १२ अर्बको क्षति भएको मूल्यांकन भएको छ ।
जिल्लाभित्रका विषयगत कार्यालयबाट सम्बन्धित पालिकाको समन्वय र सहजीकरणमा क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रशासनले जनाएको छ । बाढीपहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन्।
जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकी छन् ।
जिल्लामा प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरेको हो । बाढी पहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँको क्षति भएको छ ।
पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ बराबरको, २५ वटा पुलमा ८५ करोड रुपैयाँ बराबरको र ६ वटा भवनमा चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पाँच वटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा २ करोड ४७ लाख ३५ हजार ९५२ रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरि, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको १३ करोड ४६ लाख ६९ हजार, पाँचवटा पहिरो नियन्त्रण आयोजनाको १ करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा १७ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत २ हजार ५२० वटा पशुपन्छीमा २ करोड ३५ लाख ७६ हजार र २४४ वटा गोठ र पोखरीमा १ करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापा अन्तर्गत २२३ आयोजनामा २८ करोड १ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण आएको प्रजिअ नेपालले जानकारी दिएकी छन् । कषि ज्ञान केन्द्रअन्तर्गत ३ हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा २७ करोड ४९ लाख ९५ हजार ७५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा ४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा ५ लाख ८ हजार र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट ३२ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताएकी छन् ।
बाढीपहिरोबाट जिल्लामा ७११ घरपरिवार विस्थापित भएका छन् । यसमध्ये ७०० परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ । बाढी पहिरोबाट जिल्लाको १० स्थानीय तहमा ३६५ घर पूर्ण र ९४० घरमा आंशिक क्षति पुगेको थियो ।

