धरान । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जनश्रमदानबाट बनेको भन्दै प्रचार गरेको धरान–१० नारायण पथको ड्रेन निर्माणमा उपमहानगरपालिकाबाट करिब २४ लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ ।
धरानका उपप्रमुख अईन्द्रविक्रम बेघाले ड्रेन निर्माणको अनुगमनमा हिसाब किताब सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । वडाध्यक्ष विवेक राईले ड्रेन निर्माणका लागि नारायणपथबासीले प्रत्येक घरबाट ७ हजारका दरले रकम दिएको बताए । उनका अनुसार ड्रेन बनाउन देश विदेशबाट समेत सहयोग रकम आएको थियो ।
संकलन भएको रकमको हिसाब सार्वजनिक गरिएको छैन । श्रमदानमा ५६४ जना सहभागी भएको बताइएको छ । उनीहरूले दैनिक ज्याला लिएका थिएनन् । तर, खाजा खर्चमा ठूलो रकम खर्च भएको बताइएको छ ।
सार्वजनिक गरिएको हिसाब अनुसार ड्रेन निर्माणमा मिस्त्री खर्च ६९ हजार २४८ रुपैयाँ, सिमेन्ट ९ लाख ५९ हजार ९४१ रुपैयाँ ६९ पैसा, गिट्टी २ लाख ९९ हजार ७१७ र बालुवा १ लाख ५० हजार ३२९ रुपैयाँ ४३ पैसा खर्च भएको छ । यस्तै प्लाईबोर्ड १० हजार ७४२ रुपैयाँ ३८ पैसा, सेटिङ लगायतका काठ र सामान ५० हजार १३६ रुपैयाँ, छड ७ लाख ८१ हजार ६०२ रुपैयाँ, व्याण्डिङ तार ८ सय १८ रुपैयाँ, ढुङ्गा ढुवानी ट्याक्टर भाडा ५६ हजार ५४९ रुपैयाँ ८८ पैसा खर्च भएको छ ।
निर्माण कार्यको अनुगमनमा उपप्रमुख बेघासहित योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, योजना शाखाका किरण भुजेल लगायत इन्जिनियर र अमिनहरू सहितको टोली पुगेको थियो ।

