अंशु गौतम हत्या प्रकरण : २७ दिनसम्म शव अस्पतालमा

अंशु गौतम हत्या प्रकरण : २७ दिनसम्म शव अस्पतालमा

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, बुधबारेकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या भएको २७ दिन बितिसकेको छ । तर उनको परिवारले अझै न्यायको सास फेर्न सकेको छैन ।

घटनामा संलग्न अपराधी पक्राउ नपर्नु र अनुसन्धानको ठोस नतिजा नआउनुले गौतम परिवारको पीडामाथि थप पीडा थपिएको छ । यही कारण, उनीहरूले छोरीको शव बुझ्न अस्वीकार गरेका छन्, र हत्यामा संलग्न पक्राउ गरी सार्वजनिक नगरेसम्म दाहसंस्कार नगर्ने अडान लिएका छन् ।

असोज २१ गते ‘खेल्न जान्छु’ भन्दै घरबाट निस्किएकी अंशु त्यसपछि कहिल्यै फर्किनन् । परिवार र स्थानीयले खोजी गरे पनि उनको पत्तो लागेन । हराएको १८ दिनपछि, कार्तिक ७ गते, घरबाट करिब साढे चार किलोमिटर टाढाको जङ्गलमा उनको शव क्षतविक्षत अवस्थामा फेला प¥यो । यो घटनाले लेटाङ मात्र नभई सिंगो देशलाई नै स्तब्ध बनायो । हाल अंशुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । तर परिवारले न्याय नपाएसम्म शव नबुझ्ने निर्णय गरेको छ ।

अंशुका ठूलाबुवा दामोदर गौतमले भने, ‘जबसम्म प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्दैन, तबसम्म हामी शव बुझ्दैनौं ।’ परिवारले डीएनए परीक्षणको रिपोर्ट आउनुप¥यो र अपराधी कानुनी दायरामा ल्इाउनुपर्ने माग राखेका छन् । ‘रिपोर्ट पनि आउनुप¥यो र दोषीलाई पक्राउ गरेपछि मात्र परिवारले शव बुझ्ने मनस्थिति बनाएको छ,’ उनले भने ।
यता, मोरङ प्रहरीले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई तीव्र पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी कवित कटुवालले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै यस घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार, घटनास्थलबाट संकलन गरिएका सबुत प्रमाणहरूलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

‘यो घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं । अनुसन्धानका लागि समिति नै गठन गरिएको छ,’ एसपी कटुवालले भने, ‘अनुसन्धानमा जिल्ला प्रहरी मात्र नभई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र संघीय प्रहरी इकाई कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ ।’ प्रहरीले संयुक्त र सूक्ष्म तरिकाले अनुसन्धान अगाडि बढाइरहेको र चाँडै नै नतिजामा पुग्ने विश्वास दिलाएको छ ।

प्रहरीले अनुसन्धान साँघुरिँदै गएको (न्यारो डाउन) बताएको छ । ‘हामीलाई विश्वास छ, छिट्टै नै अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनेछौं,’ कटुवालले भने । हाल प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको दक्ष टोलीले घटनास्थल र सम्भावित क्षेत्रमा अनुसन्धान गरिरहेको छ ।

एकातिर प्रहरी अनुसन्धानलाई निष्कर्षमा पु¥याउन लागिपरेको छ भने अर्कोतिर, गौतम परिवार छोरीको हत्यामा संलग्नको अनुहार हेर्ने दिनको प्रतीक्षामा छ । २७ दिनदेखि अस्पतालमा रहेको अंशुको शवले न्याय मागिरहेको छ, र परिवारको अडानले प्रहरीमाथि थप दबाब सिर्जना गरेको छ । यो जघन्य अपराधको सफल अनुसन्धान गरी दोषीलाई कारबाही गर्नु प्रहरीका लागि ठूलो चुनौती बनेको छ ।