झडपमा ११ जना घाइते भएपछि हरिनगरामा नेपाली सेनासहितको गस्ती

झडपमा ११ जना घाइते भएपछि हरिनगरामा नेपाली सेनासहितको गस्ती

विराटनगर । सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका २ रामनगर भुटाहामा आइतबार राति दुई समूहबीच झडप भएपछि नेपाली सेनासहितको सुरक्षा कडा बनाइएको छ ।

आइतबार राति डाइस खेल्ने क्रममा विवाद उत्पन्न भएपछि दुई समूहबीच कुटाकुट हुँदा ११ जना घाइते भएका थिए ।

झडपपछि सम्भावित हिंसा रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको हो । तीन सुरक्षा निकायको टोली रामनगर भुटाहा क्षेत्रमा नियमित गस्ती गरिरहेको सुनसरी प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले स्थिति सामान्यीकरण गर्न संयुक्त सुरक्षा फौज परिचालन गरिएको बताए ।

भुटाहा बजारमा सेनासहितको संयुक्त सुरक्षा गस्ती चलिरहेको छ। सुरक्षा निकायले जेन–जी आन्दोलनपछि जिल्लाका विभिन्न स्थानमा संयुक्त नियमित गस्ती गर्दै आएका थिए । हरिनगरको भुटाहामा हिंसा भड्किन नदिन संयुक्त टोली खटाइएको हो ।

घटनामा संलग्न रहेकोक आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । झडपमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलाहा सदा र ४० वर्षीय राजु दास, २५ वर्षीय राजा सिद्दिकी, २० वर्षीय सोहेल अन्सारी, २४ वर्षीय साजिर सिद्दिकी, ५२ वर्षीय अजमल हुसेन र २३ वर्षीय फैजान अन्सारी घाइते भएका थिए ।

घाइतेहरूको विराटनगरको नोबेल र गोल्डेन अस्पताल तथा स्थानीय हरिनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।