विराटनगर । जेनजी आन्दोलनको बलमा विघटन भएको प्रतिनिधिसभाका सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्किएर जनमत आफ्नो पक्षमा पार्ने दौडमा लागेका छन् । २०८२ फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । तोकिएकै मितिमा चुनाव हुनेमा उनीहरु पूर्ण आश्वस्त भने छैनन्, यद्यपि मोरङका निवर्तमान सांसदहरूले गाउँ–गाउँमा पुगेर जनतासँगको भेटघाट र चुनावी छलफललाई तीव्रता दिएका छन् ।

गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधिसभा विघटन भएलगत्तै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । बेलबारीस्थित आफ्नै घरमा बसेर उनले टोल–टोलमा पुगी कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गरिरहेका छन् । आफ्ना भेटघाटहरूमा शर्माले स्थानीय तहका जनप्रतिनिधिहरू सेवामुखीभन्दा सुविधाभोगी भएको भन्दै आलोचना गर्ने गरेका छन् । तर, उनी आफैँ पनि सञ्चालक रहेको नोबेल मेडिकल कलेजमा नर्सहरूमाथि भएको भनिएको श्रम शोषणको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचित बनेका छन् ।

यसैबीच, शर्माको क्षेत्रमा आगामी चुनाव थप प्रतिस्पर्धात्मक हुने देखिएको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’ मार्फत मोरङ–३ बाटै चुनाव लड्ने चर्चाले कांग्रेस वृत्तमा तरंग पैदा गरेको छ । बस्नेतको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । बस्नेत उम्मेदवार बनेमा कांग्रेसकै मत विभाजित हुन सक्ने अनुमान स्थानीय कार्यकर्ताहरूले गरेका छन् । जसले शर्मालाई थप सक्रिय बनाएको देखिन्छ ।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ बाट सांसद बनेका माओवादी नेता अमनलाल मोदी पनि गाउँमै सक्रिय छन् । प्रतिनिधिसभा विघटनपछि केही दिन काठमाडौं बसे पनि त्यसयता आफू लगातार जनतासँगै रहेको उनले बताए । ‘म मन्त्री हुँदा होस् वा नहुँदा, सधैँ जनताको बीचमा छु । अहिले पनि भेटघाट र छलफलमै व्यस्त छु,’ मोदीले भने ।

मोरङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका योगेन्द्र मण्डल पनि आफ्नो क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनी गाउँघरमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै जनतासँग सम्पर्कमा छन् ।

भ्रष्टाचार, नातावाद र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा २०८२ भदौ २३ गतेबाट देशव्यापी रूपमा जेनजी पुस्ताको नेतृत्वमा आन्दोलन सुरु भएको थियो । आन्दोलन हिंसात्मक बन्दा ७० जनाभन्दा बढीको ज्यान गएको थियो भने सिंहदरबार, संसद भवनलगायतका महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी भएको थियो । आन्दोलनकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै उनको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेका थिए ।

यही निर्वाचनलाई लक्षित गरी अहिले निवर्तमान सांसदहरू पुनः जनताको घरदैलोमा पुग्न थालेका हुन् । दशैंलगत्तै स्थानीय स्तरमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । पुराना अनुहारले चुनावी अभियान थाले पनि नयाँ अनुहारहरू भने मैदानमा देखिएका छैनन् ।