विराटनगर । विराटनगर महानगरपालिकाका दुई संवेदनशील स्थानमा सुरक्षा निकायहरूले कर्फ्यु लगाउनु पूर्वको तयारीका लागि संयुक्त अभ्यास सम्पन्न गरेका छन् । आइतबार भएको यस अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ४० जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

मोरङ प्रहरीको अनुसार विराटनगर महानगरपालिका वडा नं. ४ स्थित आयल निगमको कार्यालय क्षेत्र र वडा नं. ३ स्थित प्रदेश प्रमुखको निवास अगाडि यो अभ्यास गरिएको हो । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै र विषम परिस्थितिमा तुरुन्तै प्रभावकारी रूपमा कर्फ्यु कार्यान्वयन गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभ्यास आयोजना गरिएको हो ।

अभ्यासका क्रममा सुरक्षाकर्मीहरूले कर्फ्युको समयमा अपनाउनुपर्ने सतर्कता, सवारीसाधन र व्यक्तिको आवतजावतलाई नियन्त्रण गर्ने तरिका, र आकस्मिक अवस्थामा समन्वय गरी परिचालन हुने जस्ता विषयमा पूर्वतयारी गरेका थिए ।

सुरक्षा निकायहरूले यस्ता अभ्यासहरूले शान्ति सुरक्षा कायम राख्न र कुनै पनि बेला आइपर्न सक्ने असहज परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षा फौजको मनोबल उच्च राख्न मद्दत पुग्ने बताएका छन् । विराटनगरका संवेदनशील मानिएका क्षेत्रमा गरिएको यो अभ्यासले आम नागरिकमा सुरक्षाको प्रत्याभूति बढाउन समेत सघाउ पुग्ने विश्वास लिइएको छ ।