विराटनगर । जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारको मन्त्रीमण्डल १० सदस्यीय पुगेको छ । आन्दोलन सकिएको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भयो ।
आइतबार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरिएको छ । उनीहरुको शपथथ्रहण आइतबार नै भएको छ । योसँगै प्रधानमन्त्री कार्कीसहित मन्त्रिमण्डलको संख्या १० सदस्यीय भएको छ ।
वरिष्ठताक्रममा पहिलो रहेका अर्थमन्त्री रामेश्वर खनाल छन् । त्यसपछि क्रमैसँगले उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ छन् ।
गृहमन्त्रीमा ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमा अनिलकुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधिमा महावीर पुन, कृषि तथा पशुपन्क्षी विकासमा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमा जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता रहेका छन् ।
अर्थमन्त्री खनाल सोही मन्त्रालयका पूर्व सचिव हुन् । उर्जामन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी–निर्देशक हुन् । अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् भने नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा त्यही मन्त्रालयबाट १४ वर्षअघि अवकाश पाएकी सचिव हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल पेशाले अधिवक्ता हुन् भने सञ्चारमन्त्री जगदीश खरेल पत्रकार हुन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर यन्त्र उपकरणको प्रयोगमा जोड दिइरहेका महावीर पुन नेपालको ग्रामीण भेगमा सूचना–प्रविधिको विस्तारबाट सामाजिक सेवामा प्रवेश गरेका र चर्चामा आएका व्यक्ति हुन् । कृषिमन्त्री मदन परियार विभिन्न अध्ययन र सामाजिक क्रियाकलापमा सक्रिय थिए ।
युवा तथा खेलकूदमन्त्री बनेका बब्लु गुप्ता सामाजिक काममा सक्रिय थिए । कोरोना महामारीका बेलामा विपतमा परेकाहरूलाई निःशुल्क खाना बाँड्नदेखि आर्थिक अभाव भएका व्यक्तिहरूलाई उनले कपडा बैंक अभियान चलाएका थिए । उनले ‘हण्ड्रेड ग्रुप’ स्थापना गरेर त्यसैमार्फत् विभिन्न कार्यक्रम गरिरहेका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!